शनिबार, बैशाख १५, २०८१

टेलिकमका उच्च व्यक्ति नै माफियाको शरणमा

काठमाडौं श्रावण ४ ,  नायब प्रबन्ध निर्देशकसमेत नभएका व्यक्तिले प्रबन्ध निर्देशक बन्ने सपना देख्दा नेपाल टेलिकमलाई अस्तव्यस्त बनाउन खोजिएको हो कि भन्ने देखिएको छ । यस खेलका मुख्य योजनाकार नेपाल टेलिकमकै प्रबन्धक सुनील पोखरेल रहेको बुझिएको छ । टेलिकमभित्र गुणस्तरहीन सामग्री ‘सप्लाइ’ गर्दै आएका जगदम्बा इन्टरनेसनल प्रालिका प्रमुख डिआर उपाध्यायलाई प्रयोग गर्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर पोखरेल आफू योग्य नभए पनि Untitled-1-20प्रबन्ध निर्देशक बनिछाड्ने रणनीतिमा लागेको बुझिएको छ ।
पोखरेलका लागि आर्थिक सहयोग गर्दै आएका उपाध्यायसँग नायव महाप्रबन्धक रवीन्द्र झा, अरुण पुरी र सुनिल पोखरेल स्लिपिङ पार्टनर भएको टेलिकममा चर्चा छ । तत्कालीन प्रबन्ध निर्देशक बुद्धि आचार्यलाई हटाएर नकर्मी थरका व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउँदा पोखरेलले दूरसञ्चार नियमावली नै संशोधन गरेका थिए । उनी त्यही नियमावलीलाई टेकेर उसै समय प्रबन्ध निर्देशक बन्न खोजेका थिए । माधव नेपाल गुटमा रहेर लामो समय एमाले पार्टीलाई आर्थिक सहयोग पु¥याएका पोखरेल प्रबन्ध निर्देशक हात पार्नकै लागि गुट परिवर्तन गरी केपी ओली पक्षमा लागेका थिए । तर ओली नेतृत्वको सरकार ढलेका कारण उनको त्यो सपना पूरा हुन सकेको थिएन । गुट परिवर्तनकै कारण एमाले सम्बद्ध दूरसञ्चार कर्मचारी संघ नै विरोधमा उत्रिएपछि पोखरेल बाध्य भएर अभियानबाट पछि हटेका थिए ।
एमालेबाटै सञ्चारमन्त्री बनेका शेरधन राईको पालामा उक्त नियमावली संशोधन त भयो, तर संशोधित नियमावली पनि पोखरेलका लागि फलदायी हुन सकेन । संशोधित नियमावलीपछि नेपाल टेलिकमका लागि प्रबन्ध निर्देशक पदको विज्ञापन खुल्यो । सो विज्ञापनमा राजभण्डारी, पोखरेललगायत एक दर्जनको उम्मेदवारी परेको थियो । टेलिकमकै विषयमा बीई र एआइटीबाट स्नातकोत्तर गरेकी राजभण्डारीलाई हटाएर पोखरेल वा अन्य कसैलाई छनोट गर्न सक्ने अवस्थामा परीक्षा बोर्ड पुग्न सक्ने कुरै थिएन । अन्ततः लामो समय टेलिकमको स्तरवृद्धिमै बिताएकी राजभण्डारी खुल्ला प्रतिस्पर्धाबाट छनोट भई गत असोजदेखि चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन्् ।
खासगरी पछिल्लो समय ‘फोरजी’ र मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको ‘अप्टिकल फाइबर’ को ठेक्का हत्याउन सक्रिय टेलिकमभित्र र बाहिरका उपकरण ‘सप्लाइ’ गर्ने माफियाहरू कामिनीविरूद्ध मिडियामा सक्रिय देखिएका कारण झा, पुरी र पोखरेलको समूह लगानी गर्न उत्साहित भएको हो । सञ्चारमाध्यममार्फत प्रबन्ध निर्देशकलाई विवादमा तानेर ठेक्का आफूअनुकूल बनाउने रणनीति ठेकेदारहरूको रहेको छ भने टेलिकमभित्र भाइरसका रूपमा चिनिने कर्मचारीका सानो समूह प्रशासनलाई अस्थिर बनाएर कुनै निर्णय गर्न नदिने पक्षमा देखिएको छ । ठेकेदारसँग आन्तरिक सहमतिका आधारमा टेलिकमभित्रका नायब प्रबन्ध निर्देशक रवीन्द्र झा, अरूण पुरी र प्रबन्ध निर्देशक पदका दाबेदार सुनिल पोखरेल लागिपरेको कर्मचारी स्रोतले तरुणलाई बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय र केही राजनीतिक दलको नाम लिएर ठेक्का हत्याउने योजनामा कम्पनीभित्र र बाहिरबाट उल्लेखित व्यक्तिहरू लागे पनि उनीहरूको दबाबले पनि प्रबन्ध निर्देशक राजभण्डारी विचलित नभएकोमा झालगायतका कर्मचारीहरू चकित परेका छन् । उल्टै कम्पनीभित्र ‘राइट पर्सन, राइट प्लेस’ को नीतिदेखि ठेक्कापट्टामा पूर्णरूपमा पारदर्शिता अपनाएपछि टेलिकमभित्रका माफियाहरू तिल्मिलाउन पुगेको कर्मचारी स्रोतले बताएको छ ।
मुलुकभर ‘फोरजी’ सञ्चालनदेखि मध्यपहाडी लोकमार्गअन्तर्गतको पूर्वको पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि पश्चिम गोरखा र धादिङको सिमाना आरूघाटसम्म झन्डै आठ सय किलोमिटर ‘अप्टिकल फाइबर’ बिछ्याएर आसपासका बस्तीहरूमा टेलिकमको सुविधा पु¥याउने कार्य आफंैमा चुनौतीपूर्ण छ । सँगै उक्त भागको उत्तर–दक्षिण क्षेत्रको झन्डै एक हजार ६ सय किलोमिटर ‘स्परलिंक’ गरी करिब दुई हजार चार सय किमि ‘अप्टिकल नेटवर्क’ सहित ‘हन्डे«ड–जी’ क्षमताको पूर्वाधार दुई वर्षभित्र पूरा गर्ने थप चुनौतीपूर्ण कार्य प्रबन्ध निर्देशक कामिनीले अघि बढाएपछि उनीविरुद्ध ठेकेदार र मौका ढुकेर बसेका कर्मचारी एक भएका हुन् ।
टेलिकमको स्तरवृद्धिका निम्ति गरिएको विदेश भ्रमण, ‘राइट पर्सन राइट प्लेस’ का नाममा गरिएको कर्मचारी सरूवा जस्ता विषयलाई विवादमा तानेर उनीसँग बार्गेनिङ भएरहेको बुझिएको छ । सञ्चार मन्त्रालय स्रोत भन्छ– पछिल्लो समय प्रबन्ध निर्देशक राजभण्डारीविरूद्ध मच्चाइएको प्रचार भनेको उनलाई मनोवैज्ञानिक त्रास दिएर ठेक्कापट्टा हात लगाउने नियत देखिन्छ ।-  tarunkhabar.com बाट