शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ सरस्वती, शान्ता र मनिताको अपिल

काठमाडौं चैत्र २५ , सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेले एक अपिल जारी गरेर हिसिला यमीले दिएको देशद्रोही अभिव्यक्ति सम्बन्धमा थप टिप्पणी गरेका छन् ।  अपिलमा भनिएको छ– ‘देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक संजालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा त्यसको आड लिएर देशद्रोही अभिव्यक्तिको ढाकछोप हुन सक्दैन । Screen Captures2यद्यपि हिसिलाले माफी माग्नुलाई भने हामीले ठिकै ठानेका छौं ।

हिसिलाले ‘यो देशलाई खारेज गर’ भनी नारा लगाएपछि सरस्वती, शान्ता, मनिता लगायतले ‘हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउ’ भनी संगठित अभियान चलाएका थिए । फलस्वरुप अभिव्यक्ति दिएको भोलिपल्ट साँझ हिसिलाले आफ्नो अभिव्यक्तिप्रति माफ मागेकी थिइन् ।  अपिल जारी गर्ने सरस्वती सुब्बा राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव हुन् भने शान्ता चौधरी पूर्व सभासद तथा एमाले नेतृ हुन् । त्यसैगरी मनिता घिमिरे लेखिका एव सुनसरी कांग्रेसकी नेतृ हुन् ।

हिसिलाको अभिव्यक्ति विरुद्ध सामाजिक संजालमा कडा विरोध गरिएको थियो र लाखौंले विरोधमा लेखेका थिए । त्यस क्रममा कतिपयले हिसिलालाई असामाजिक र अमर्यादिन गाली समेत गरेका थिए । त्यस्तो असामाजिक गालीलाई आधार बनाएर हिसिलाप्रति सहानुभुति जगाउने र देशद्रोही अभिव्यक्तिको ढाकछोप गर्ने प्रयास भएपछि सरस्वती शान्ता र मनिताले संयुक्त अपिल जारी गरेका हुन् ।

हिसिलाको आलोचना हुनुमा हिसिला स्वयं जिम्मेवार रहेको पनि उनीहरुले प्रष्ट पारेका छन् । अपिलमा भनिएको छ– ‘हामीले अभियान चलाएकै कारणले हिसिलाप्रति अमर्यादित टिप्पणी आयो भनी हामीमाथि विभिन्न कोणबाट लगाउन खोजिएको आरोपको हामी घोर भतर््सना गर्दछौं । हिसिलाले दिनुभएको अभिव्यक्तिको प्रतिक्रियास्वरुप आएको टिप्पणी, विरोध र आलोचनाका लागि उहाँ स्वयं जिम्मेवार हुनुहुन्छ । यसका लागि हामी तथा हामीले चलाएको अभियान जिम्मेवार हुन सक्दैन ।’

‘हामीले चलाएको अभियान र हिसिला यमी उपर गरिएको असामाजिक टिप्पणीको कुनै सम्बन्ध छैन’ अपिलमा भनिएको छ ‘हामीले देशभक्तिको पवित्र भावनाले ओतप्रोत भएर अभियान चलाएका हौं र जनविरोधपछि हिसिला यमी माफ माग्न बाध्य बन्नुभयो । हिसिला यमीप्रति असामाजिक टिप्पणी गर्नेहरु असामाजिक तत्व हुन् र यस्ता तत्वको देशभक्तिसँग कुनै सम्बन्ध हुन सक्दैन ।’ उनीहरुले त्यस्ता असामाजिक तत्वमाथि कारवाहीको माग समेत गरेका छन् ।  इन्टरनेटमा आधारित सामाजिक संजालको दुरुपयोग भइरहेको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले दुरुपयोगको कार्य गर्नेलाई सरकारले कडा कारवाही गरोस् भनी जोडदार माग पनि गरेका छन् ।