बिहिबार, जेष्ठ ३, २०८१

महाअभियोगको प्रस्तावका सवालमा सत्तारुढ दल काँग्रेसभित्र मत विभाजन

महाअभियोगको प्रस्ताव एमाले र माओवादीको षड्यन्त्रको उपज :  डा महत
एकलौटी रुपमा ल्याएकोले प्रस्तुत प्रस्तावमा आफ्नो पार्टी विपक्षमा : सासंद खतिवडा
अख्तियार प्रमुख  नियुक्तिको   क्रममा भएको गम्भीर भूल सच्याउने मौका :  मन्त्री थापा

काठमाडौ कात्तिक ५, व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावका सवालमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अख्तियार प्रमुख कार्कीको पछिल्ला कामकारवाही चित्त बुझ्दो नभएपनि महाअभियोगको प्रस्ताव ल्याउनु पूर्व काँग्रेस सँग नसोधी माओवादी र एमालेले एक्कासी र एकलौटी रुपमा ल्याएकोले प्रस्तुत प्रस्ताव आफ्नो पार्टीका पक्षमा नलाग्ने बताउँनु भएको छ ।

आज राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सासंद खतिवडाले प्रस्तुत प्रसंगमा विहिवारबाट सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा छलफल प्रारम्भ भएको र बैठकलेनै आवश्यक निर्णय गर्ने बताउँनु भएको छ । साथै उहाँले भने माओवादी केन्द्रले एमालेसंग मिलेर सत्तासाझेदार दलसंग कुनै छलफलनै नगरी महाअभियोगको प्रस्ताव ल्याउन्नु माओवादीको प्रचण्ड किन यसरी लचक भएको हो बुझिनसक्नु छ ।

यसैवीच नेपाली कांग्रेसका नेता रामशरण महतले पनि आज विहान नेपाली रेडियो नेटवर्कमा नेपाली बहसमा बोल्दै एमाले र माओवादी मिलेर महाअभियोगको प्रस्ताव ल्याउनु भनेको षड्यन्त्रको उपज भएको बताउँदै काँग्रेस प्रस्तुत प्रस्तावको विपक्षमा उभिनुपर्नेमा जोड दिएका छन ।  तर नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य गगन थापाले महाअभियोग प्रस्तावबारे दायँबायाँ नगरी सत्यका पक्षमा निर्णय गर्नुपर्ने बताउनुभएको छ । त्यस्तै मन्त्री थापाले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति  गर्ने बेला भएको गम्भीर भूल भएको र अव त्यो भूल सच्याउने मौका आएको जनाउ दिदै काँग्रेसले यो अवसर गुमाउँनु नहुँनेमा जोड दिनुभएको छ । कार्कीको नियुक्ति जति अपवित्र थियो उनका कर्म कर्तुत झनै अपवित्र रहेको बताए ।