बिहिबार, बैशाख २०, २०८१

यस्तो छ स्थानीय तह बारे महिला नेतृहरुको सुझाव

बिर्तामोड भाद्र ४,  झापाका महिला नेतृहरुले स्थानीय तहको पुनर्संरचना गर्दा राज्यका सबै तहमा महिलाको सहज पहुँच पुग्न सक्ने र महिलालाई समान अधिकार दिनेगरी गरिनुपर्ने सुझाव दिएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार बिर्तामोडमा भएको छलफलमा महिला नेतृहरुले विविध पक्षलाई ध्यानमा दिई विवादरहित ढंगले 3स्थानीय तहको पुनर्संरचनामा सरोकारवाला सबै अग्रसर हुनुपर्ने साझा धारणा समेत राखेका छन् ।

महिला नेतृले स्थानीय तहको पुनर्संरचनाको विषय सर्वसाधारण जनताले बुझ्न नसकेको बताउँदै यसबारे सार्वजनिक सुनुवाई तथा अन्य विविध माध्यमबाट जनताको सुझाव र सहभागितामा यो कार्य गर्नुपर्ने समेत बताए । अझै समय थप गरेर जनताको राय लिएर पुनर्संरचना गरिंदा उपयुक्त हुने उनीहरुको धारणा थियो । झापाको लागि तोकिएको दश वटा गाउँपालिका तथा नगरपालिकाको संख्या कम भएकोले १५ देखि २० वटासम्म बनाउनुपर्ने सुझाव समेत महिला नेतृको रहेको छ ।
नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकाल, सचिव टिका मैनाली, अखिल नेपाल महिला संघकी अध्यक्ष जसमाया गजमेर, अन्तर पार्टी महिला सञ्जालकी पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपाने सरु र राप्रपा 2नेपालकी शारदा रिजालले विभिन्न सुझावसहित धारणा राखेका छन् । त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालकी पुष्पा लिम्बू, नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल, अन्तर पार्टी महिला सञ्जाल कनकाईकी अध्यक्ष सीता बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी थपलिया बजगाई, कार्यकारिणी उपाध्यक्ष नैनाकला भट्टराईले समेत सुझाव र धारणा राखेका थिए । उनीहरुले महिलाको समान अधिकार र सहभागितामा जोड दिएका थिए ।