शुक्रबार, बैशाख १४, २०८१

परिचयपत्रको प्रक्रिया अगाडि बढाउन संसदीय समितिद्दारा सरकारलाइ निर्देशन

काठमाडौ वैशाख १६, व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय परिचयपत्रको समग्र प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । परिचयपत्र छपाइलगायतका काममा अनियमितता भएको भन्दै समितिमा परेको उजुरीमाथिको लामो छलफलपछि समितिले राष्ट्रिय सुरक्षा, आवश्यकता र चाहनालाई ख्याल गरेर प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।
यसअघि व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सरकारले राष्ट्रिय परिचयपत्र लागू गर्न लागेकाले त्यसमा सहजीकरण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै सरकारले काम नगर्ने, विधि प्रक्रिया र आवश्यकतालाई ध्यान दिएर काम गर्ने भएकाले कुनै कमजोरी हुन्छ कि भनेर अनुमान नगर्नसमेत संसद् र सांसदहरूको ध्यानकर्षण गराउनुभएको थियो ।

यसैवीच प्राप्त थप समाचारमा आजको बैठकमा अधिकांश सांसदले विदेशी कम्पनीलाई परिचयपत्र छाप्न दिनेभन्दा पनि सरकार आफैँले मेसिन खरिद गरेर मुलुकभित्रै छाप्नुपर्ने, सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने, त्यसमा प्रयोग हुने उपकरण तथा प्रविधिका बारेमा नेपाली प्राविधिकलाई नै दक्ष बनाउनुपर्नेमा जोड दिनु भएको उल्लेख गरिएको छ ।

त्यस्तै बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले परिचयपत्र छपाइ, त्यसमा रहने सूचनामा आवश्यक पर्ने सबै सुरक्षात्मक चासोलाई पूर्णरुपमा सम्बोधन गरिने जनाउ दिदै राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै सरकारले परिचयपत्रको काम अगाडि बढाएकाले कुनै कमजोरी हुन्छ कि भनेर आशङ्का नगर्नसमेत आग्रह गर्नुभएको थियो भने गृहसचिव नारायणगोपाल मलेगोले सरकारको निर्देशनका आधारमा मेसिन सञ्चालन हुने, नाजायज व्यक्तिको प्रवेश नहुने र सफ्टवेयरमा तोकिएको व्यक्तिभन्दा अरुले चलाए तत्काल जानकारी प्रवाह हुँने भएकोले अनियमितता हुन्छ कि भन्ने आशङ्का गर्ने ठाउँ नै नभएको बैठकलाइ जानकारी दिनु भएको थियो ।