शुक्रबार, बैशाख १४, २०८१

जन्म दिनमा पुस्तक सहयोग

भरतपुर चैत २५ , भरतपुर–१० का विष्णु पौडेलले आफ्नो ३९ औँ जन्मदिनका अवसरमा नेपाल पत्रकार महासंघ, चितवनलाई बिहीबार पुस्तक सहयोग गरेका छन् । महासंघको पुस्तकालयका लागि ३० हजार दुई सय ५० रुपियाँ बराबरको एक सय २० थान पुस्तक पौडेलले सहयोग गरेको महासंघले जनाएको छ । पौडेलले खान नपाएर सडकमा अलपत्र परेकाहरुलाई आफ्नै खर्चमा ‘कोही भोका नहुन्’ भन्ने अभियान देशभर समेत चलाइरहेका छन् । पुस्तक प्रदान गर्दै पौडलले पत्रकार महासंघको रचनात्मक काममा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।  महासंघले आफ्नो ६० औँ स्थापना दिवसमा स्थापना गरिएको पुस्तकालयलाई थप वृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि पुस्तक संकलन गर्ने काम अगाडि बढाएको छ ।

पत्रकारको क्षमता अभिवृद्धिका लागि पुस्तकालयबाट चितवनको नागरिक समाजले समेत फाइदा लिन सक्ने भएकाले पुस्तकको सदुपयोग गरिने महासंघका शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले बताए । महासंघले स्थापना दिवसका अवसरमा सुरु गरेको ‘एक व्यक्ति : एक पुस्तक’ अभियान प��स्तकालय सम्पन्न नभईञ्जेल जारी रहने महासंघले जानकारी दिएको छ । कार्यालयमा आएर जतिबेला पनि आफनो इच्छा अनुसार पुस्तक प्रदान गर्न सकिने व्यवस्था मिलाइएकाले यो अभियानमा सरिक हुन उपाध्यक्ष दिपेन्द्र बडुवालले कार्यक्रममा सबैलाई आव्हान गरेका थिए । कार्यक्रम शाखा अध्यक्ष हरिप्रसाद पोखेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।