शनिबार, बैशाख १५, २०८१

भारतीय प्रम मोदीद्दारा नेपालका नवनिर्वाचित समकक्षी अ‍ोलीलाई भारत भ्रमणको निम्तो

काठमाडौ आश्विन २४ , व्यवस्थापिका संसदको बैठकमा आज भएको प्रधानमन्त्री चयनको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा भारतीय समकक्षी अर्थात प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

Untitled-1ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै टेलिफोन गरेर प्रधानमन्त्री मोदीले बधाई ज्ञापन गर्दै भारत भ्रमणका लागि समेत आमन्त्रण गर्नुभएको नेकपा एमालेले जनाएको छ ।
त्यस अवसरमा दुई प्रधानमन्त्रीबीच नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई थप गतिशील पार्ने बारेमा विचार–विमर्श सकेत भएको बताईएको छ । त्यस्तै  प्रधानमन्त्रीमा निर्वाचित हुँनु भएको ओलीलाई धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर नेपालका लागि चीनका राजदूत उ चुन्ताईले पनि बधाई ज्ञापन गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

यसैवीच भारतीय विदेश मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा   भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेर काम गर्ने प्रस्ताव गरेको जनाएको छ । प्रजातान्त्रिक र विधिसम्मत चुनावबाट ओली प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  नेपालमा शान्ति र स्थायित्वका लागि ओलीले समाजका सबै वर्गलाई मिलाएर हिँड्ने अपेक्षा तथा आशा भारतीय प्रधानमन्त्रीले व्यक्त गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल सरकारले देशका राजनीतिक समस्याहरुलाई वार्ता र मेलमिलापको माध्यमबाट सम्वोधन गर्नेमा हामी विश्वस्त छौं,’ विदेश मन्त्रालयले भनेको छ ।
भारत नेपालको शान्ति, प्रगति र सम्वृद्धिको पक्षमा उभिँदै आएको र यही भारतको हितमा हुने कुरा प्रधानमन्त्रीले व्यक्त गरेको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली जनताको चाहना अनुसार नेपालको शान्ति, स्थायित्व र सामाजिक- आर्थिक विकासका लागि सबै प्रकारको सहयोग भारतले जारी राख्ने छ ।’ हाल सीमाक्षेत्रमा जारी अघोषित नाकाबन्दीको विषयमा भने विज्ञप्तिमा कुनै चर्चा गरिएको छैन ।