शुक्रबार, बैशाख १४, २०८१

स्वाभिमानी हुँकार…

image-गौतम डंगोल “सन्देश”

तिमी बन्द गर हाम्रा सीमा नाकाहरु
हामी उघार्ने छौं हाम्रा मनका लाखौं दैलाहरु
हाम्रा तन मनका अनबनहरु मेटाएर
तिम्रो कुदृष्टि बिरुद्ध एक भई हामी उठ्नेछौं
तिमी बन्द गर हाम्रा सीमा नाकाहरु

तिमी लम्बा चौडा छौ हामी भन्दा धेरै ठुला छौ
तिमी शक्तिशाली छौ हामी भन्दा धेरै धनवान छौ
तर देख्ने छ संसारले तिम्रो मन हामी भन्दा कति सानो छ
तिम्रो सोच कति फोहोरी छ हामी भन्दा कति तल छ
तिमी अन्त गर हामी संगको भाईचारा
हामी शुरु गर्ने छौं सम्बन्धका थप्रै नयाँ आयामहरु
दबेका हाम्रा आवाजहरु बुलन्द गरेर
एउटै स्वर भई तिम्रो लाज पचेको अनुहार सबलाई देखाउनेछौं
तिमी बन्द गर हाम्रा सीमा नाकाहरु

तिमी कुटिल अधिर छौ हामी भन्दा धेरै चतुर छौ
तिमी अवसरवादि छौ हामी भन्दा धेरै बलवान छौ
तर देख्ने छन् दुनियाले तिमी हामी भन्दा कति कमजोर छौ
तिम्रो लोभ कति कालो छ हामी भन्दा कति गरीब छौ
तिमी परेड खेलाउ तिम्रा गिद्धे एसएसबिलाई हाम्रा सीमाहरुमा
हामी बनाउने छौं पर्खाल तेस्र्याई हाम्रा दुई करोड छातीहरु
एक एक थोपा हाम्रा देश प्रेमी रगत साँचेर
गण्डकी कोशी कर्णाली भई डतेर तिम्रो सामना गर्नेछौं
तिमी बन्द गर हाम्रा सीमा नाकाहरु