शनिबार, बैशाख ८, २०८१

निरिह..

Image9

आँशुको वर्षात गरेर जाउ
खुनको गंगा बहाई जाउ
रङ्गिन छ दुनिया मेरो खुनले तिमी रङ्गेर जाउ

घृणाको पर्खाल ठडाई जाउ
दुश्मनीको रेखा कोरेर जाउ
इष्र्यालु छ छरछिमेक मेरो भावना कुल्चेर जाउ

पिडाको लहर चलाएर जाउ
आफु सुख पहिल्याएर जाउ
सुखी छ संसार दुख मलाई छोडेर जाउ

स्वार्थको दियो बालेर जाउ
जहाँ उज्यालो छ त्यहिं ढल्केर जाउ
मस्ती छ रोदि अलपत्र चिताको लाश छोडेर जाउ

मनका अनगिनत् आकांक्षा उमालेर जाउ
लेनदेनमा आफैलाई बेचेर जाउ
बिकाउ छन् मान्छेहरु नबिक्नेलाई लत्याएर जाउ

मन भरुन्जेल खुन पसिना चुसेर जाउ
रीत्तो खाली खाली पारेर जाउ
बदलिंदो छ संसार छिन छिनमा रुप फेरेर जाउ

उर्लंदो जवानीका लिप्साहरु मेटेर जाउ
झुठो मायाको अभिनय सिकेर जाउ
रङ्गमञ्च सजिएको छ धोकाधरीले पोख्त भएर जाउ

हिजो अनि अस्तीलाई चटक्क मारेर जाउ
आफुले आफैलाई बिर्सेर जाउ
यो गुमनाम शहरमा नयाँ नयाँ  नाम सिर्जेर जाउ

नयाँ नयाँ नाता जोडेर जाउ
नौला मान्छेहरुमा आफुलाई सुम्पेर जाउ
नयाँ जुगको माग भन्दै हरेक दिन नयाँ बन्दै जाउ

– गौतम डंगोल “सन्देश”