शुक्रबार, बैशाख १४, २०८१

सम्झनामा उनी….

pen-copy-gift-150x1502गौतम डंगोल “सन्देश”

आज कुशे औंशी अर्थात बावुको मुख हेर्ने दिन ! भौतिक रुपमा बुवा आफ्ना आँखा अगाडि हुने भाग्यमानीहरुका लागि धेरै धेरै शुभकामना ! म जस्ता बुवा स्मृतिमा Image8सिमित भएका अभागीलाई समवेदना ! जसका बुवा आँखा अगाडि छन् तिनलाई उनी यो लोकमा आशिष स्वरुप शिरोधार्य  हुँदै उनको सेवा गर्ने, उनलाई माया गर्ने, श्रद्धा गर्ने, उनलाई सक्दो खुशी दिने अहोभाग्य नछुटाउन नगुमाउन अनुरोध गर्दै आजका दिन वुवाको स्मृतिमा कोरिएको स्पन्दनका अनुभूति

तिमी त गयौ सदाका लागि आँखा चिम्लेर
हजारौं पिडाका टुवाँलाहरुलाई छिचोलेर
म त बसेको छु तिम्रै यादमा रोएर
फर्कि आउँछौ कि भनि तिमीलाई पर्खेर
तिमी त गयौ सदाका लागि आँखा चिम्लेर

तिम्रो हिरो साइकलको घन्टी बज्छ कि भनेर
तिम्रो सिइको फाइभ घडिमा समय हेरेर
म त बसेको छु कान ठाडो पारेर
सुनसान बाटोमा पर पर सम्म तिमीलाई खोजेर
म त बसेको छु तिम्रै यादमा रोएर

तिम्रो पुरानो नेश्नल पानासोनिक रेडियो घरी घरी पुछेर
उहि पुरानो एभरेडि बेटरीलाई न्यानो घामले सेकेर
म त सुनि बसेको छु रेडियोको मौनता मौन बनेर
गिला गिला ती बेटरीमा शक्ति खोजेर
म त बसेको छु तिम्रै यादमा रोएर

तिम्रो गोलो गोलो अक्षरका डोबहरु पछ्याएर
तिम्रा शब्द चयनका खाकाहरु पढेर
म त कोरी बसेको छु कविता गोलो अक्षर गरेर
ती कवितामा तिम्रै शैलीका आवेग समेटेर
म त बसेको छु तिम्रै यादमा रोएर

तिम्रो दारी काट्ने टोपाज् ब्लेडले मुटु चिरा चिरा पारेर
तिम्रो गोल्डस्टार जुत्तामा श्रद्धा अर्पण गरेर
म त बसेको छु आहाल बेहाल भएर
हरेक कुशे औंशीमा आकास हेरी टोलाएर
म त बसेको छु तिम्रै यादमा रोएर