शुक्रबार, बैशाख १४, २०८१

वरिष्ठ राजनीतिज्ञ देवकोटाको अन्त्येष्टि

काठमाडौ श्रावण २५, आज विहान बाँसबारीस्थित न्युरो अस्पतालमा जनैखटिराको  उपचारको क्रममा आफ्नो इहलिला त्याग्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक तथा राष्ट्रवादी अभियानका संयोजक वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा ईश्वरचन्द्रले दागवत्ती दिनुभएको थियो । यसअघि स्व देवकोटालाई लाई श्रद्धाञ्जलि दिन आर्यघाटमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, कानुनमन्त्री नरहरि आचार्य, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता पुग्नुभएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले देवकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै सम्मान गर्नु भएको थियो ।

यसअघि देवकोटालाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत विभिन्न दलका नेता नेपाल प्रज्ञा प्रतिष्ठान पुग्नु भएको थियो ।
त्यस्तै सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, पूर्वमन्त्री तथा चिकित्सक उपेन्द्र देवकोटा, राजनीतिज्ञ मोदनाथ प्रश्रित, प्रकाशचन्द्र लोहनी, काँग्रेसका नेता अर्जननरसिंह केसी, राप्रपाका महामन्त्री दीपक बोहरा, राप्रपा नेपालका सहायक महामन्त्री राजाराम श्रेष्ठ तथा प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल नाट्य तथा सङगीत प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्त, प्राज्ञ उन्नति बोहरालगायतले देवकोटाप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।