शनिबार, बैशाख १५, २०८१

देवदह मेडिकल कलेजका प्रबन्धक प्रद्युम्न श्रेष्ठ सहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं माघ २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवदह मेडिकल कलेज, रुपन्देहीलाई एमबीबीएस कक्षा सञ्चालन गर्न अनुमति दिँदा अनिमयमितता गरेको अभियोगमा काठमाडौंं विश्वविद्यालयका प्रबन्धकसहित १७ जनाविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । काठमाडौं विश्वविद्यालयका प्रबन्धक प्रद्युम्न  श्रेष्ठ, परीक्षा नियन्त्रक डा. पन्ना थापा, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष अनवर एलाही अन्सारी, कानुन व्यवसायी ज्योति बानियाँ, शिवजी पौडेल, देवदह मेडिकल कलेजका सञ्चालक हिमलाल ज्ञवाली र अध्यक्ष नीलकण्ठ काफ्लेलगायत विरुद्ध मुद्दा दायर गरिएको हो ।

काठमाडौं विश्वविद्यालयका जगदीश चटौत, प्राध्यापक रमेशप्रसाद सिंह, मेडिकल काउन्सिलका सदस्यहरू मनोहर प्रधान, अनीलकुमार झा, रोशन पिया, नीरज पन्त, कुलदीप गोइत, अंकुर साह, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका सहप्राध्यापक सतीशकुमार देव, देवदह मेडिकलका सञ्चालक एवं निर्देशक रजनीश जिन्दलविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध हदैसम्मको कारबाही गर्न तथा अनियमितता गरेको रकमबराबरको जरिवाना गर्न तथा बिगो भराउन अख्तियारले माग दाबी गरेको छ ।

अख्तियारका अनुसार देवदह मेडिकल कलेजलाई एमबीबीएस कक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालयले मनसायपत्र दिएपछि मापदण्ड पूरा गरेरनगरेकोे अध्ययन गर्न काठमाडौं विश्वविद्यालयका प्रा.डा.पन्ना थापासमेतको ४ सदस्यीय टोली गएको थियो भने मेडिकल काउन्सिलले डा.मनोहर प्रधानको नेतृत्वमा टिम खटाएको थियो ।

दुवै टोलीले अध्ययन नै नगरी कलेजले उपलब्ध गराएका झुटा विवरणलाई आधार मानेर ५० जना विद्यार्थीका लागि एमबीबीएस कक्षा सञ्चालन गर्न अनुमति दिन मिल्ने भनी गलत प्रतिवेदन दिएको पाइएको अख्तियारले जनाएको छ । त्यस्तै अख्तियारले देवदह मेडिकल कलेजमा हालसम्म भर्ना भएका विद्यार्थीहरूको हकमा  यसवीचमा भएको सम्झौताअनुसार अध्ययनको व्यवस्था मिलाउन काठमाडौं विश्वविद्यालयलाई निर्देशनसमेत दिएको छ ।