शनिबार, बैशाख १५, २०८१

कार्यसम्पादन प्रस्ताव पारित

 काठमाडौँ माघ १२, स्थापिका–संसद्को आजको पहिलो बैठकले सदनको बैठक एवम् कार्यसम्पादन प्रस्ताव पारित गरेको छ । बैठकमा  सभामुखको जिम्मेवारी निर्वाह गरिरहनुभएका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली, २०६५ बमोजिम बैठक एवम् कार्यसञ्चालन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा उपस्थित सांसदले ध्वनिमतले पारित गर्नुभएको हो । 

 त्यसैगरी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउसम्बन्धी अध्यादेश सदनसमक्ष पेस गर्नुभयो । त्यस्तै ज्येष्ठ सभासद् थापाले राष्ट्रपति डा रामवरण यादवले यही माघ १९ गते सम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई आह्वान गर्दै पठाउनुभएको पत्र पढेर सुनाउनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही माघ १३ गते बिहान ११ बजे बस्नेछ ।