शुक्रबार, बैशाख १४, २०८१

जुन दिन ३ करोड जनताले हामीलाई राजा चाहिन्छ भन्छन्, राजा फेरि पनि फर्किएर आउँछन्

:शशांक कोइराला, कांग्रेस नेता

वीपी कोइरालाका छोरा एवम्  नेपाली कांग्रेसका नेता शशांक कोइरालाले  बीसीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै भन्नुभयो- म तपाईलाई प्रष्ट भनिदिन्छु कि हुनसक्छ भोलि हामीले पुनः राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ । बीबीसी नेपाली सेवाको नेपाल सन्र्दभ कार्यक्रमलाई  नेता कोइरालाले दिनुभएको अन्तरवार्ता यस्तो छ

नेपाली कांग्रेस र देशको वर्तमान परिस्थितिलाई हेर्दा तपाईलाई तपाईको बुबाले अख्तियार गरेको सिद्धान्त ठीकजस्तो लाग्छ कि त्यसलाई तोडेर काका गिरिजाप्रसाद कोइरालाले लिएको बाटो ठीकजस्तो लाग्छ ?

-म अहिले पनि वीपी कोइरालाको लाइनमा विश्वास गर्छु । कारण के छ भन्दा बीपी कोइरालाले जहाँसम्म राष्ट्रियताको कुरा हो, मेरो र राजाको एउटै ठाउँ छ र जहाँसम्म लोकतन्त्र प्रजातन्त्रको कुरा हो, मेरो विवाद छ भन्ने कुरा गर्नुभएको थियो । अहिलेको अवस्थामा तपाईले हेरिहाल्नु भो होला कि गत १० वर्षमा हामी कतातिर गइरहेका छौं ? २ सय ४० वर्षको राजतन्त्र पनि समाप्त भो । मेरो धारणा के हो भने यो दुर्भाग्यवस जुन परिस्थिति जन्मनुपथ्र्यो त्योबेला, सहमतिको परिस्थिति, मेलमिलापको परिस्थिति ०६२/६३ को आन्दोलनभन्दा पहिले । त्यो बेलाको माओवादीसँग पनि वार्ता गरेर नै उनीहरुलाई टेवलमा ल्याउनुपर्ने एउटा अवसर चाहीँ आएको हो । दोषी त सबै छन् यसमा, तर राजनीतिक बाटो यस्तो समाप्त भयो २ सय ४० वर्षको राजतन्त्र । हो त्यसबेला मलाई लाग्छ, गिरिजाप्रसाद कोइरालाले अठोट लिएर अर्कै बाटो लिएको भए सायद अर्कै परिस्थिति बन्थ्यो । तर, दुर्भाग्यवस बाध्य भएर कांग्रेसले पनि बाटो परिर्वतन गर्नुपर्‍यो । अहिले हामीले सच्याएनौं भने यो झन दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।

सच्याएन भने दुर्भाग्यपूर्ण हुन्छ भन्नु भो, वीपी कोइरालाले लिएको नीति ठिक थियो भनेर पनि भन्नु भो । अब अहिलेको परिस्थितिमा तपाईले त्यो कसरी सच्याउनु हुन्छ ?

-वीपी कोइरालाले सबैभन्दा पहिले उच्चारण गर्ने शब्द थियो राष्ट्रियता । अहिले राष्ट्रियताको बारेमा कोही प्रश्न पनि गर्दैनन्, चासो पनि राख्दैनन् । जातीय हिसावले देशको बाँडफाँड गर्नुपर्छ भन्ने कुराहरु आइराखेको छ । राष्ट्रियता यति कमजोर भएर गएको छ । जहाँसम्म त्यो बेला राजा थिए, वीपी कोइरालाले भन्नुभो राष्ट्रियताको बारेमा । राजाले राष्ट्रियता जोगाउँछ, किनभने जब राष्ट्र नै हुँदैन भने राजा कहाँको । त्यसैले उसको पनि इन्ट्रेस्ट हुन्छ । अहिले कस्तो देखियो भने राष्ट्रियता हैन कि महत्व भएको छ जातिको । सबैले आफ्नो आफ्नो डम्फु मात्र बजाइरहेका छन् । जब कि नेपालका लागि चिन्ता गर्नु पर्ने हाम्रो राष्ट्र हो, हामीले चलाउनु पर्छ । यो चिन्ता अब भएन भने राष्ट्र विखण्डनतिर जान्छ ।

आउँदो चुनाव छ, संविधानसभाको । यसमा दुईवटा कुरा छ। एउटा संविधानसभाको चुनाव हुन्छ कि हुँदैन, नभएको खण्डमा अर्को समस्या उत्पन्न भो । भएको अवस्थामा पनि संविधान लेखिन्छ कसरी ? भन्दाखेरि हामी झनझन ओझेलमा परिरहेका छौं । यो दुर्भाग्य हो । अब हामीले प्रस्थान गर्ने विन्दु भनेको यो राष्ट्र बनाउने र संविधान दिने । यो दुईवटा प्रमुख एजेण्डा म देखिरहेको छु ।

शशांक जी, अब राष्ट्र बचाउने भन्दा तपाईको बुबा वीपीले लिएको बाटोमा र्फकनुपर्छ, गल्ती सच्याउनु पर्छ भन्ने हो ?

-गल्ती त सुधार्नै पर्छ । हामीले गल्ती गरेका पनि छौं, नगरेका हैनौं । तर, मैले यो भन्न खोजेको हैन कि राजतन्त्र नै ल्याउनुपर्छ । त्यसलाई रिभाइव गर्ने नगर्ने जनताको कुरा हो । जुन दिन ३ करोड जनताले हामीलाई राजा चाहिन्छ भन्छन्, राजा फेरि पनि फर्किएर आउँछन् । म तपाईलाई प्रष्ट भनिदिन्छु कि हुनसक्छ भोलि हामीले पुनः राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ । तर, त्यस्तो अवस्था म अहिले देखिराको छैन । त्यस्तो परिस्थिति आएको खण्डमा, मधेसीहरुले टुक्राउन खोजे, जातीय हिंसातिर गयो भने, अहिले नै दुईवटा एक्स्ट्रिम  थटहरु आइसके, एउटा हैन यो मुलुक नै टुक्राएर मात्र हुन्छ भन्ने । अर्को हैन अब राजालाई नै ल्याउनु पर्छ भन्ने पनि स्क्सट्रिम  हो । यो आउने सम्भावना देखिराको छु । जुन इमेज नेपाली कांग्रेसले दिएको थियो, त्यो विस्तारै विस्तारै धमिलो हुँदै गएको छ । त्यसलाई हामीले सच्याउनुपर्छ ।

तपाईले जनतामा कांग्रेसको एउटा छवि थियो भन्नुभो । छवि हुनका लागि दलको एउटा निश्चित परिचयको अवश्यकता पर्छ । ०६२/६३ को जनआन्दोलनपछि जब नेपाली कांग्रेस माओवादीको एजेण्डामा हिड्यो । त्यसपछि कांग्रेसको छवि के छ ? परिचय के छ ?

-हो, एउटा कमन एजेण्डा के भइदियो भने राजा फाल्ने। त्यो गिरिजाप्रसाद कोइरालाको एक किसिमको राजनीतिक बाध्यता पनि रहृयो । किनभने जुन वार्ता गिरिजाप्रसाद कोइरालाले धेरै पटक, एक पटक पनि हैन, प्रयास गर्दा पनि हुन सकेन । अब के कारणवस हो, त्यो मलाई पनि थाहा छैन । दोस्रो कुरा, जुन अघि मैले भनें, संघीयताको बारेमा । वीपी कोइरालाले पहिले नै भन्नुभएको थियो, विकेन्द्रीकरणको नीति हुनुपर्छ । जुन हामीले पनि गर्न सकेनौं । बरु पञ्चायती व्यवस्थामा एउटा थियो कि अञ्चलाधीश बनाएको थियो । अधिकार अञ्चलाधीशलाई दिइएन, त्यहीबेलादेखि विकेन्द्रीकरण भइदिएको भए, त्यहिबेला सम्पूर्ण अधिकार अञ्चलाधिशलाई दिइदिएको भए एक किसिमको विकेन्द्रीकरण हुन्थ्यो र अहिलेको यो परिस्थिति आउँदैनथ्यो । वीपी के भन्नुहुन्थ्यो भने नेपाल भनेको गाउँ हो । त्यो कुरा पोलिटिकल स्टेटमेन्ट हो, त्यो सामाजिक स्टेटमेन्ट हो । भन्दाखेरि राजनीति पनि गाउँबाट हुनुपर्‍यो, विकास पनि त्यो गाउँबाट हुनुपर्‍यो । तर, यहाँ भइदियो भने भन्दा हामीले पनि पञ्चायती शैलीलाई कार्य सुरु गर्‍यौं । हामीले पनि केन्द्रीकृत राजनीति गर्‍यौं । हामीले महत्व कहिले पनि त्यो गाउँलाई दिएनौं ।

यो सबै कुरा होला तर, अहिले नेपाली कांग्रेसको परिचय के ?

– अहिले नेपाली कांग्रेसको परिचय एकदम स्पस्ट भन्ने हो भने त्यही समाजवादी चिन्तन हो । हामी मल्टीपार्टी डेमोक्रेसीमा विश्वास गर्छौ । न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गछौं । त्यही नै हो नेपाली कांग्रेसको परिभाषा ।

 तर, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता अहिलेको प्रमुख राष्ट्रिय एजेण्डा हो, त्यो सबै त तपाईहरुको परिचय हैन, माओवादीले तपाईहरुलाई दिएको अथवा तपाईहरुलाई घिसारेर लगेको बाटो हो ।

-धर्म स्वतन्त्र हुनुपर्छ । हेर्नुस् मेरो त भनाइ के हो भने धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ । न धर्म कम्युनिष्टहरुले भने जस्तो शून्य हुन्छ । धर्म भनेको स्वतन्त्र हुन्छ ।

अनि संघीयता र गणतन्त्र ?

सुन्नुस्, सुन्नुस, हरेक व्यक्तिलाई धर्म परिर्वतनका लागि जवरजस्ती प्रलोभनका आधारमा धर्म परिर्वतन हुनुहुँदैन । जुन पहिलेदेखि नै थियो तर, दुर्भाग्यवस, मुलुक धर्मनिरपेक्ष भइसक्यो, विदेशीहरुले धर्मका आधारमा यहाँ धेरै प्रवेश पाइसकेका छन् । धर्म परिर्वतन धेरै भएको छ, यो गलत भएको हो । दोस्रो कुरा तपाईले भन्नुभो संघीयताको बारेमा, मैले अघि नै तपाईलाई भनिहालेँ वीपी कोइरालाले भन्नु भएको थियो विकेन्द्रीकरणको बारेमा । त्यसको अन्तिम लक्ष्य हो फेडेरल स्टेल भनेर । त्यसका लागि पनि ओभरनाइट जादुको छडीले जस्तो ल संघीय भो भनेर अब तिमीहरु संघीय राज्य चलाऊ भन्ने आउन सक्छ भन्ने मलाई लाग्दैन । गणतन्त्र यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । ०६२/०६३ को आन्दोलनमा मैले अघि भनिहालेँ, जतिसुकै मैले यसलाई लुकाउँ, इग्नोर गरुँ, त्यो वेलाको परिस्थिति थियो ।

दुर्भाग्य भने भनेको त्यतिबेला राजतन्त्र नजानु पर्ने थियो गयो भन्नु भएको ?

-हो त्यो वेला यस्तो परिस्थिति आयो । जनता उठे, स्ट्याण्ड लिन सक्ने, जनतालाई बुझाउन सक्ने नेतृत्वहरुले पनि धान्न सकेन । सायद वीपी कोइराला भइदिएको भए, अर्कै परिस्थिति आउँथ्यो होला । यो भनेर मैले कुनै नेतालाई ऊ गर्न खोजेको पनि हैन । तर, राजनीतिक परिस्थिति नै यस्तो थियो कि भनौं न गाह्रो थियो र वीपी कोइरालाको हाइटको मान्छे त्यहाँ थिएनन् कि जो टुडिखेलमा उभिएर एकचोटि बोलिदिएपछि सबैले सुन्थे र बुझ्थे सिम्पल भाषामा । त्यो कुरा भएन ।

तसर्थ तीनवटा कुरा धर्म निरपेक्षताको कुरामा माओवादीको को त एजेण्डा नै छैन । तपाईले कसरी धर्म निरपेक्षता उनीहरुको एजेण्डा भन्नुहुन्छ ? एकातिर १२ वर्षको युद्धमा उनीहरुले गाई मारेनन् ? काटेनन् ? खाएनन् ? अनि अर्कोतिर गाईको पूजा गर्छन् के हो त्यो ? संघीयता उनीहरुको हो ? कुन कम्युनिष्ट मुलुकमा संघीयता थियो ? कि उनीहरु भन्छन् संघीयता हाम्रो एजेण्डा हो । गणतन्त्र हो, एक किसिमले राजा फल्ने उनीहरुको कुरा थियो ।

अब अन्त्यमा तपाईले सबैलाई दोष दिन चाहन्न त भन्नु भो । तर, अहिले नेपाली कांग्रेसले अख्तियार गरेको नीतिप्रति पूर्ण असहमति पनि जनाउनु भो, तपाईलाई थाहा छ अब के गर्‍यो भने ठिक हुन्छ ?

-यो एक्स्ट्रिममा हामी गइरहेका छौं । अब पनि हामीले सच्याएनौं भने दुर्घटना हुन्छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो लक्ष्य के हो भने यो राष्ट्रलाई टुक्रिन दिनु भएन । नम्बर दुई, यो राष्ट्रलाई बचाउन सहमति गर्नुपर्‍यो । त्यसका लागि संविधानसभाको चुनाव हुनुपर्‍यो । समयमा नै हुनुपर्‍यो र २/४ वर्षभित्र हामीले जनतालाई संविधान दिन सक्नुपर्‍यो । त्यसपछि गएर स्थानीय चुनाव गराउनुपर्‍यो भन्ने मेरो धारणा हो । वीपी भन्नुहुन्थ्यो नि बाटो बिरायो भने माटो लेउ र सोच । त्यही हो कि हामीले माटो लिएर सोच्नुपर्‍यो नेपालका लागि के हुन्छ भनेर ।