मङ्लबार, बैशाख १८, २०८१

बालबालिकामा विपद्को जोखिम कायमै

-सरोज ढुङ्गाना

विनाशकारी भुकम्पले थिलथिलो बनाएको ठुलो सिरुवारीका बालबालिकाले अझै पनि विपद् जोखिमबाट मुक्त हुन नसकेकोमा चिन्ता प्रकट गरेका छन् । खास गरेर सुरक्षित आवास, खानेपानी, सरसफाई र चिकित्सा सेवामा पहुँचको अभाव रहेको उनीहरूको दाबी छ । तत्कालीन ठूलो सिरुवारी गाविसमा गत पुसको पहिलो साता सम्पन्न बाल भेलाका क्रममा उनीहरूले यस्तो आवाज उठाएका हुन् । गत २०७२ बैशाख १२ गते र त्यसपछिको पराकम्पबाट भौतिक संरचनाहरू ध्वस्त भएको र यसबाट उच्च जोखिमको निरन्तरता रहेको बालबालिकाको धारणा छ । ‘टहरोमा बसेको निकै भैसक्यो, यहाँको बास जोखिमपूर्ण नै छ, हामीलाई पढ्न लेख्न मात्र हैन ढुक्कले निदाउन नै समस्या छ’ स्थानीय ठूलो सिरुवारी गाविसस्तरीय बाल सञ्जालका अध्यक्ष सरोज नेपालीले बताए ।

‘विद्यालय भत्केपछि हामी आकासमुनि पढिरहेका छौं, पढाईमा ध्यान जानै सकिरहेको छैन, स्वास्थ्य र सरसफाईको अवस्थापनि उस्तै नाजुक छ’ बालभेलामा सहभागी हुनआएका सेतिदेवि बालक्लबका प्रतिनिधि सन्जिता श्रेष्ठले बताइन् । उनी भन्दै थिइन्– ‘ढुक्कको वातावरण नबन्दा हाम्रो बालअधिकार खोसिएको छ ।’ ठूलो सिरुवारीस्थित सेतिदेवि माध्यामिक बिद्यालयका प्रधानाध्यापक हरिविक्रम नेपालको बिचारमा बालबालिकाहरूलाई भुकम्पपछि उत्पन्न परिस्थितिले निकै गाँजेको छ । उनीहरूले परिवारका सदस्यहरू र साथीको मृत्युको पीडा झेल्नुपर्ने मात्र नभई अन्य धेरै प्रकारका क्षतिहरू ब्यहोर्नु परेका कारण उनीहरू अझै लयमा आउन सकेका छैनन् ।

बालबालिकाहरूले यस प्रकारको नौला र अत्यन्त चुनौतीपूर्ण परिस्थितिहरूसित तालमेल मिलाउनु पर्ने भएकाले उनीहरूलाई निरन्तर परामर्शको खाँचो छ, जिल्लास्थित बाल कल्याणकारिणी समितिका सदस्य सोम सापकोटाले बताए– ‘पूर्व अवस्थाको नियमित जीवनबाट भुकम्पले सबै क्षेत्रमा खल्बल्याएपछि खासगरी बालबालिकाको मनोविज्ञानमा ठूलो असर परेको र पीडाको गहिरो भाव परेको छ’ सापकोटा बताउँछन् । स्थानीय संघसंस्थाका प्रतिनिधिहरूकाअनुसार बालबालिकाहरूलाई अर्काे भूकम्प र अन्य संभावित जोखिमहरूको त्रास तथा भविष्यकाबारेमा चिन्ताले छोडेको छैन ।

विपद्पछि बालबालिकामा घरायसी कामको बोझ बढेको विश्लेषण स्थानीय शान्ति दुलालको छ । उनीहरुले पर्याप्त खाना, आश्रय र पानी आपूर्ति गर्ने कामहरूका लागि आमाबुबालाई सघाउनु पर्ने हुनाले बालबालिकामाथि कार्य बोझ भएको उनले बताइन् । विशेष गरी बालिकाहरू शोषण र दुव्र्यवहारको जोखिममा पर्न सक्ने संत्रास बृद्धि भएको स्थानीय बाल संरक्षण समितिका संयोजक शिबबहादुर केसीको तर्क छ । उनी भन्छन् ‘कतिपय बालबालिकाहरू बिपद्पछि बिद्यालय फर्किएनन् । उनीहरू कहाँगए, हाम्रो खोजीको बिषय छ ।’ उनको तर्कमा स्पष्ट देखिने आवश्यकताहरू मात्र नभई बालबालिका र उनीहरूका परिवारको मनोसामाजिक र संरक्षणसम्बन्धी आवश्यकतासमेत छ ।

बाल भेलामा सहभागी भएका बालबालिकाहरूले विस्तृत र व्यवहारिक सुझावहरू प्रस्ताव गरेका छन् । विध्वंशपछिको पुनर्निर्माणमा उनीहरूले आफ्नो र समुदायको सुस्पष्ट भूमिका देखेका छन् । चुनौतीहरूका बाबजुद उनीहरूले अधिकारीहरू र अन्य सरोकारवालाहरूबाट उल्लेखनीय सहायताको समुचित अपेक्षा व्यक्त गरेका छन् । बाल भेलामार्फत प्रस्तुत गरेको विस्तृत सुझावमा विपद्पछिको अवस्था सम्बोधन गर्न माग गरेका छन् ।  बालभेला सन्चालन बिधिअनुसार बाल भेलामा मनपर्ने र मन नपर्ने कुराको चित्रद्वारा राय लिईदा अधिकांशले बिपद्को कुरा उठाएका हुन् । यसै गरी सुरक्षित र असुरक्षित स्थलकाबारे पनि बालबालिकाले चित्रांकनमार्फत् अभिव्यक्ति दिएका थिए । बालबालिकाले स्थानीय तहको परिकल्पनालाई चित्रमार्फत् व्यक्त गर्छन् । यस्तो अभिव्यक्तिबाट आएका सवाल, समस्यालाई योजना र कार्यक्रममा रुपान्तरण गरी भावी योजना छनौट गर्ने अभ्यास छ ।

तत्कालीन ठूलो सिरुवारी गाविस र चौतारा साँगाचोकगढी नगरपालिकामा गाँभिएको छ । हाल वडा नम्बर १३ र १४ मा रुपान्तरित ठूलो सिरुवारीको बाल भेला गरिँदा ८ देखि १३ बर्ष उमेर समूहका बालक र बालिकालाई एक समूह, १३ देखि १८ बर्ष उमेर समूहका बालक र बालिकाको बेग्लाबेग्लै समूह बनाई आफ्नो आवाज र बिचार अभिव्यक्त गर्न आग्रह गरिएको थियो । यस बमोजिम तीनै समूहबाट बिपद् जोखिम न्युनिकरणमा सर्वाधिक चासो व्यक्त गरेका थिए ।

बाल भेलाका दौरानमा उनीहरूको आकांक्षालाई सवाल, समस्या र सुझावका रुपमा ग्रहण गर्दै सम्बन्धित स्थानीय सरकारले योजना र कार्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । ठूलो सिरुवारीको तत्कालीन गाउँ परिषदले पनि विपद् व्यवस्थापनका सम्बन्धमा बिशेष प्रस्तावहरू पारित गरेको थियो । बालबालिका सरोकारलाई स्थानीय तहमा सहभागितामूलक प्रक्रियाले योजना निर्माण गर्न टोल हुँदै राष्ट्रिय योजना आयोगसम्म पु¥याउनु पर्ने लक्ष्य रहन्छ । सबै चरणका योजना निर्माणमा बालबालिकाको सहभागिता नभएपनि स्थानीय तहमा भने विभिन्न संरचनामा बालबालिकाको सहभागिता हुने व्यबस्था छ ।

स्थानीय जिल्ला समन्वय समितिका सदस्य सचिव तथा तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी कृष्ण बहादुर शाहीले निर्णय प्रक्रियाहरूमा बालबालिकाका आवाज र बिचारलाई उच्च कदर गरिएको बताए । उनले विपद् पूर्वतयारी योजना तर्जुमा र कार्यान्वयनमा बालबालिकाहरूलाई सहभागी गराउनु पर्ने कुरामा आफू स्पष्ट भएको बताए ।

नेपाल सरकारले नेतृत्व गरिरहेको चालु पुनर्निर्माण प्रक्रिया जिल्लामा जारी छ । भूकम्पका कारण जिल्लामा झन्डै ९० हजार ओटा निजी तथा सामुदायिक भवनहरू ध्वस्त भएको र तीनको पुनर्निर्माण कार्य प्रक्रियामा रहेको पुनर्निर्माण प्राधिकरण सिन्धुपाल्चोक सम्पर्क कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार अहिले ६९ ओटा स्वास्थ्य संस्थाहरू जिल्लामा सञ्चालनमा रहेको र केही स्वास्थ्य संस्थाले अस्थायी भवनबाट सेवा दिइरहेको छ । यस्तै जिल्ला ाशिक्षा कार्यालय सिन्धुपाल्चोककाअनुसार जिल्लामा ५४२ ओटा विद्यालय भवनहरू भत्केकोमा अहिलेसम्म २५ ओटा मात्र विद्यालय भवन निर्माण भएका छन् भने १०० ओटा विद्यालय भवनहरू निर्माणको क्रममा छन् ।

निजी आवासहरू पनि जिल्लामा पुननिर्माण गर्ने क्रम जारी छ । झन्डै ७५ हजार भन्दा बढि घरधुरीले पहिलो किस्ताबापत्को अनुदानको रकम बुझिसकेको र दोस्रो किस्ताबापत्को रकम वितरण गर्ने प्रक्रिया पनि शुरु हुन लागेकोले यस वर्ष आवास निर्माणले तिव्रता पाउने विश्वास पुनर्निर्माण प्राधिकरणले गरेको छ । तत्कालिन ठूलो सिरुवारी गाविसका गाविस सचिब तथा हाल १३ र १४ नम्बर वडाका सचिब दुर्गा प्रसाद ढुंगेलले ठूलो सिरुवारीमा पुनर्निर्माणका क्रममा कुल १७४२ लाभग्राहीमध्ये १७०४ घरधुरीले पहिलो किस्ताबापत्को अनुदान पाइसेकेको र ९६ घरधुरीले दोस्रो किस्ता बापत्को अनुदान रकम पाउने चरणमा रहेको बताए ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला