काठमाडौ कात्तिक २१, आज छठ पर्वको तेस्रो दिन राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइएको छ । छठपर्वको अवसरमा राजधानीको टङकेश्वर, गुहेश्वरी, गहनापोखरी, कमलपोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाट लगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लागेको थियो ।
आजको दिन छठमातालाइ वर्तालुहरुले नियमनिष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ । त्यस्तै भोली प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख रहेको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।