चितवन वैशाख २२, श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र’ जारी गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा गएराति सम्पन्न भएको छ । तर साधारण सभामा बहुचर्चित विधान संशोधन प्रस्ताव भने पारित हुन सकेनन । नेपाल प्रेस युनियनले एक महिनाअघि नै प्रस्तावित विधान अध्ययनका लागि दिनुपर्नेमा नदिएकाले साधारणसभामा विधान संशोधन हुन नसक्ने भन्दै हलभित्रै नाराबाजी गरेपछि संशोधन प्रस्ताव पेस गर्नै नपाई साधारणसभा समपन्न गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
यसअघि बन्दसत्रमा अध्यक्ष मण्डलका संयोजक सुरेश आचार्यले महासचिव उजिर मगरको कार्य प्रगति, साङ्गठनिक र भावी कार्ययोजना बारेको प्रतिवेदन, कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दीपक पाण्डेको लेखा प्रतिवेदन पारित भएको घोषणा गरेपछि विधान संशोधन प्रक्रिया सुरु गर्न लाग्दा प्रेस युनियनले संसोधन प्रस्तावको विपक्षमा आवाज बुलन्द गरेपछि विधान संशोधन प्रस्ताव पेश हुन नसकेको हो । सोही क्रममा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले समिति बनाएर विधान संशोधन अगाडि बढाउनुपर्ने माग गर्नुभएको थियो भने क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले संशोधनको औचित्य प्रष्ट्याउन माग गरेको थियो । तर प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले विधान संशोधन आवश्यक भएको र समयअनुसार परिमार्जन गर्नुपर्ने बताउँदै गर्दा समेत हलमा नाराबाजी गरेको प्राप्त समाचनारमा जनाईएको छ । त्यसपछि अन्तत विरोध नारावाजी पछि विधान परिमार्जनका लागि अध्यक्ष मण्डलका संयोजक सुरेश आचार्यले महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, शिव गाउँले, सुरेश आचार्य, पूर्व महासचिव ओम शर्मा, वर्तमान अध्यक्ष महेन्द्र विष्ट, महासचिव उजिर मगर, पत्रकार निर्मला शर्मा सम्मिलित उच्चस्तरीय समिति गठन गर्नुको अलावा ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै केन्द्रीय साधारणसभा सम्पन्न गरिएको थियो ।