शुक्रबार, चैत्र १६, २०८०

पत्रकार प्रजापति पुरस्कृत, दवूको अध्यक्षमा पुनः तमाखू

 जनमानसमा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण नगरौं : नगरप्रमुख श्रेष्ठ

भक्तपुर, भाद्र १८
नेपाल भाषाको पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखी निरन्तर सक्रिय रहनुभएका भक्तपुरका पत्रकार कृष्ण प्रजापति शुक्रवार पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकार प्रजापति ‘स्व. हरिलाल र श्रीलक्ष्मी श्रेष्ठको स्मृति पत्रकारिता पुरस्कार’ द्धारा पुरस्कृत हुनु भएको हो ।

राससका फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गिय बुबा हरिलाल र आमा श्रीलक्ष्मी श्रेष्ठको स्मृतिमा स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रुपैंया रहेको छ ।
पुरस्कृत पत्रकार प्रजापतिलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ताम्रपत्र, उपप्रमुख विजयकृष्ण श्रेष्ठले दोसल्ला ओढाई र पुरस्कारका दाता रत्न श्रेष्ठले नगद राशी हस्तान्तरण गरी पुरस्कृत गरिएको थियो ।

यसैबीच अधिवेशनले रामगोपाल तमखुको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्र कृष्ण (गोपाल) श्रेष्ठ चुनिएका छन भने सदस्यहरूमा श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुंका, रेणु त्वानावासु र विरेन्द्र खाइजु रहेका छन ।

यसअघि आयोजित नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभाको उद्घाटनसत्रलाइ वोल्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पत्रकारहरुले जनमानसमा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । समाचार सत्यतथ्यमा आधारित हुनुपर्छ । पत्रकारहरुले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दा पनि सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्छ, उहाँले भन्नुभयो । त्यस्तै उपत्यकाका सबै नगरपालिका फोहोर व्यवस्थापनको सवालमा साझा अवधारणा बनाएर उपत्यकाको फोहोर उपत्यकामै व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजीमा समेत एकजुट भएर लागी परेको उहाँले बताउनुभयो ।

साथै अनधिकृत संरचना हटाउने सम्बन्धमा नगरपालिकाले हालै जारी गरेको ३५ दिने सूचनाको बारेमा स्थानीयका साथै धेरै सञ्चारकर्मीहरुले समेत चासो दिएको बताउँदैं उहाँले मध्यपुर थिमिमा काठमाण्डौंमा जस्तो ठूला समस्या नभएपनि भविष्यमा त्यस्तै समस्या नआओस भनेर अहिले नै नगरका मूख्य सडक, चोक, सम्पदा क्षेत्रमा भइरहेको अव्यस्थित पार्किङ, ठेलागाडा राखी सडक पेटीमा हुने व्यापार व्यवसायलाई नियन्त्रण गर्न सूचना जारी गरेको जानकारी दिनुभयो ।