मङ्लबार, बैशाख १८, २०८१

वडादशैमा निम्न सचेतना अपनाउँदै स्वास्थ्यको पनि ख्याल गरौ

-डा . रवीन्द्र पाण्डे

काठमाडौ  कात्तिक ४,  नेपालीहरुको खाने परम्पराको रुपमा मनाइने दशैं पर्व आजभोलि स्वास्थ्यको जोखिम पर्वको रुपमा पनि लिन थालिएको छ । असन्तुलित आहार, बिहार र आचारको कारण यो समयमा लाखौँ आममानिसमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा स्वास्थ्य समस्या थपिने गरेको छ । भनिन्छ – अति सर्वत्र वर्ज्यते : अर्थात कुनै पनि कुरामा अति गर्नुहुँदैन ! शरीर स्वस्थ भयो भने बर्षमा ३६५ दिन नै पर्व हुन्छ । शरीर अस्वस्थ भयो भने एक क्षण पनि पर्वको उल्लास हुँदैन ।
images (43) download (34)स्वस्थ दशैँ मनाउनको लागि तल उल्लेखित सचेतना महत्वपूर्ण हुनेछन ।

१. दशैंलाई मासुको पर्व पनि मानिन्छ ! मासु किन्दा खसी, बोका, राँगा, कुखुरा वा अन्यको स्वास्थ्यस्थिति अनुमान लगाउनु पर्दछ ! स्वभाब अनुसारका कृयाकलाप तथा आँखा, नाक, मुख, सक्रियता आदिबाट प्रारम्भिक अनुमान गर्न सकिन्छ । त्यसलाई काट्ने, टुक्रा पार्ने, घर ल्याउने एबम धुने तरिका पूर्णत स्वस्थ हुनु जरुरि छ । मासु पसलबाट मासु किन्दा मासुको रंग, गन्ध, पसलको सरसफाई, राखेको तरिका आदि हेरेर मात्र किन्नु पर्दछ । छाला, बोंसो, रौँ,आन्द्रा, भुँडी आदि हटाउनुपर्दछ । रक्ति, भुटन आदि स्वादिष्ट भएपनि स्वास्थ्यको लागि हानिकारक हुन्छन । त्यस्तै छोएला, कचिला एबम पोलेको मासु पनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुँदैनन् । मासुलाई थोरै बनस्पती तेल तथा घरेलु मसला एबम थोरै नुन हालेर झोलिलो बनाउँदा सबैभन्दा स्वस्थकर हुन्छ ! मासु सेवन गर्दा त्यसको बराबर सागसब्जी, सलाद तथा पानी खानु अनिबार्य छ । मध्यम मात्रामा खाएको मासुले शरीरलाई फाइदा गर्छ भने धेरै मात्रामा खाएको मासु कोलेस्ट्रेरोल बनेर मुटुको रोग निम्त्याउँछ । त्यस्तै बासी, सडेगलेको, झिंगा लागेको तथा फ्रिजमा नराखेको मासु खाँदा फुड प्वाइजनिंग ( झाडा, पखाला ) हुन सक्दछ । सिंगो खसी काटेर खानुभन्दा दैनिक ताजा र फरक फरक मासु खानु स्वस्थकर हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना,बाथ, मुटु तथा मृगौला सम्बन्धि समस्या भएका व्यक्तिलाई कुखुरा, हाँस, लौकाट आदिको मासु उपयुक्त हुन्छ । कृपया कसैले पनि स्वाद वा अन्य लोभको कारण बोंसो नखानुहोला ।

२. दशैमा सकभर मासुमा भन्दा फलफुल, सागसब्जी, गेडागुडी, दुध, दहि जस्ता खानामा प्राथमिकता दिनु उपयुक्त हुन्छ । प्रत्येक घण्टा पानी प्रशस्त पिउने ! समयमा सुत्ने तथा समयमा उठ्ने बानि कायम गर्ने ।

३. चाडपर्वलाई मदिराको पर्यायको रुपमा पनि हाम्रो समाजमा लिइन्छ । सबैभन्दा उत्तम मदिरा सेवन नगर्नु नै हो । यदि मदिरा सेवन गर्नुहुन्छ भने त्यसको लागि आत्मअनुशाशन सबैभन्दा महत्वपूर्ण हो । दिनमा एकपटक मात्र, गुणस्तरीय ब्रान्डको तथा निर्धारित मात्रा मात्र सेवन गर्नुहोला। निर्धारित मात्रा भन्नाले व्हिस्की २ पेग वा वाइन २ गिलास वा बियर १ बोतल मात्र हो । यो मात्रा भन्दा बढी सेवन गरेमा स्वास्थ्यको लागि मात्र नभई पारिवारिक, सामाजिक एबम आर्थिक रुपमा समेत नकारात्मक असर पर्दछ । निर्धारित मात्राको मदिरा सलाद, फलफुल, बदाम, काजुसंग सेवन गरेमा उपयुक्त हुन्छ । यी मध्ये ‘ रेड वाइन ‘ कम जोखिमयुक्त मानिन्छ । अत्यधिक नशाको कारण स्नायुमा खबर आदानप्रदान कमि भएको बेला मासुको टुक्रा स्वासनलीमा पसेर मृत्यु हुने घटनाप्रति सचेत हुने ।

. धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवननगर्नुहोला । याद गर्नुहोस मध्यपान तथा चुरोटसंगै सेवन गरेमा हृदयाघातको जोखिम हुन्छ ।

५. मानसिक स्वास्थको लागि योगा, मेडिटेसन, संगीत, राम्रा पुस्तक अध्ययन, लेखन एबम परिवार तथा समाजमा घुलमिल हुनु
उपयुक्त हुन्छ।

६. चाडपर्वमा गरिष्ठ खाना हुने भएकोले बिहान एक घण्टा र साँझ आधा घण्टा शारीरिक परिश्रम गर्नु अनिबार्य हुन्छ ।

७. गुलियो सकभर नखानु राम्रो हुन्छ ! चिनी, ग्लुकोज, मिठाइ पटक्कै नखाँदा राम्रो । फलफुलको गुलियो स्वस्थकर हुन्छ ।

८. आफुले सेवन गरिरहेको औषधि नियमित सेवन गर्ने । रिंगटा लाग्ने, छाती दुख्ने, पसिना आउने जस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जाने ! अधिक बोंसो/चिल्लो/मदिरा/आराम/चुरोट आदिको कारण दशैमा हृदयाघातको सम्भावना धेरै हुन्छ ।

९. घरपरिवार तथा समाजमा आत्मीय सम्बन्ध कायम गर्ने, बालबालिका तथा बृद्धवृद्धाको रुचिको बिशेष ख्याल गरेर आफु पनि बच्चा वा बृद्धवृद्धा भएको अनुभूति गर्ने ! घरको तथा टोलको सरसफाईमा ध्यान दिने ! व्यक्तिगत सरसफाइमा पनि ध्यान दिने । तनाब न्यूनीकरण गर्ने । कम्प्युटर वा मोबाइलमा समय
बिताएर चाडपर्वलाई खल्लो नबनाउने ।

१०. समाजसेवालाई पनि चाडपर्वको अंगको रुपमा लिने । आफुसंग भएको बाँडीचुंडी खाने, अशक्तलाई खाना तथा अन्य सहयोग गर्ने । चाडपर्व धनीको मात्र हैन, सक्नेको मात्र हैन तसर्थ परोपकारी भावना अँगालेमा त्यसबाट प्राप्त सन्तुष्टिले मानसिक स्वास्थ्य समेत बलियो हुन्छ ।

डा. पाण्डे जनस्वास्थ्य बिशेषज्ञ हुनुहन्छ ।