बुधबार, बैशाख १९, २०८१

सभामुखमा घर्ती र उपसभामुखमा यादव निर्विरोध निर्वाचित

काठमाडौँ आश्विन २९ ,  व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख पदमा एमाओवादीका सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसद्को आजको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरिहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले घर्तीको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले gharti + yadav17निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहित अन्यदलको समर्थन प्राप्त भएको थियो ।  संसद बैठक सञ्चालन गर्दै आएका संसदका ज्येष्ठ सदस्य राजवंशीले घर्ती सो पदमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गर्दै उपसभामुख पदको निर्वाचन संसद्को केहीबेरमा बस्ने अर्को बैठकमा हुने जानकारी दिनुभएको थियो ।

यसैवीच व्यवस्थापिका संसद्को आज साँझ बसेको अर्को बैठकबाट उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । बैठकमा सो पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँलाई निर्वाचित गरियोस् भनी नेकपा एमालेका सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  प्रस्तावलाई समर्थन गर्दै एमाओवादीका सांसद रेखा शर्माले समावेशी र समानुपातिक आधारमा संविधानको कार्यान्वयनका क्रममा निर्विरोध रूपमा सो पदमा निर्वाचित गराउन आग्रह गर्नुभएको हो।  बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले यादवको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । संसद्को अर्को बैठक आगामी कात्तिक ७ गते शनिबार दिउँसो ३ बजे बस्नेछ ।