काठमाडौ भाद्र २५, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलन दिनानुदिन हिंस्रक बन्दै गइरहेको गृह मन्त्रालयले ठहर गरेको छ । आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने सम्मको हरकत भइरहेको उल्लेख गर्दै गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्दारा आज साँझ जारी विज्ञप्तिमा आन्दोलनको नाममा शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा जनकपुर जलेश्वरमा मधेसी मोर्चाको जत्थाले सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमनबहादुर विकमाथि साङ्घातिक आक्रमण गरी घाइते बनाएको र विकलाई उपचारका लागि रेडक्रसको सहयोगमा जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गरी हत्या गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण उत्रेपछि प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीको मृत्यु भएको जनाउँदै सरकारी तथा सार्जजनिक र निजी सम्पत्तिमाथि आगजनी र सुरक्षाकर्मीमाथि हातहतियार प्रयोग भएको मन्त्रालयले जनाएको छ ।