काठमाडौँ ज्येष्ठ २१, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले प्रेसमैत्री संविधान बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको सातौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि प्रेसमैत्री संविधान बन्नुपर्ने र त्यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।
मन्त्री निधिले श्रमजीवी पत्रकार ऐन २०५१ कार्यान्वयन हुन नसक्दा श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षा हुन नसकेको बताउँदै उक्त ऐन कार्यान्वयन गर्न सबैले एकताबद्ध भएर पहल गर्नुपर्छ भन्नुभयो । राज्यको चौथो अङ्गको रुपमा रहेको प्रेस मुलुकमा बहुदल आएपछि निकै विस्तार भएको र नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा पत्ररकारले महत्वपूर्ण योगदान पु-याएको स्मरण पनि उहाँले गर्नुभयो ।
युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष बद्री सिग्देलले पत्रकारको व्यावसायिक र भौतिक सुरक्षाका लागि संविधानमै ग्यारेन्टी गर्नुपर्नेमा जोड दिँदै अझै पनि नेपाली श्रमजीवी पत्रकारले काम गरेबापत पारिश्रामिक, नियुक्तिपत्रलगायतमा समस्या भोग्नुपरेको बताउनुभयो ।
युनियन काठमाडौँ शाखाका नवनिर्वाचित अध्यक्ष नकुल अर्यालले युनियनको काठमाडौँ शाखामा व्यवसायिक समूह आएको बताउँदै यसले श्रमजीवी पत्रकारको हकहितका लागि लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री निधिले युनियनका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्नुभएको थियो । रासस यसैवीच नेपाल प्रेस युनियन काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई विहीवार पद हस्तान्तरण गरिने भएको छ । । प्रेस युनियन केन्द्रीय कार्यालय थापागाउँमा नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमका वीच पद हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको काठमाडौं युनियनले जनाएको छ ।