बिहिबार, बैशाख २७, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन: उम्मेदवारले मनोनयन पत्रसाथ पेश गर्नुपर्ने यस्तो छ कागजातको सूची

 काठमाडौँ पुस ११

निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहनेले पुस २३ गते मनोनयनपत्र दर्ता गर्दा  १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ ।  आयोगको आज बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम कागजात पेस गर्नुपर्ने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नु पर्ने बताउनु भएको छ ।

यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६३ बमोजिम १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने छ । साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनुपर्ने पेश गर्नुपर्ने जनाएको छ।

त्यस्तै घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण,कुनै संघीय कानूनले अयोग्य नभएको भनी गरेको स्वघोषणा पत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र,उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा, २०७९ को प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि,राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १२ बमोजिमको कुनै अयोग्यता नभएको स्वघोषणापत्र,उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहिछाप गरिएको उम्मेदवारको मनोनयनपत्र लगायतका १८ वटा कगजात पेश गर्नु पर्ने आयोगले जनाएको छ।