सोमवार, जेष्ठ ७, २०८१

स्वास्थ्य बिमा कार्यक्रम : काठमाडौँ महानगर र स्वास्थ्य बिमा बोर्डवीच समझदारी पत्रमा हस्ताक्षर

प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार

काठमाडौँ पुस ११
स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्डवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको हो ।

स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ ।

बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।’ कार्यक्रम सञ्चालनका बारेमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल ‘महानगरपालिकाले तयार पारेका स्वास्थ्य प्रवर्धन केन्द्रहरु बोर्डमा सूचीकृत हुनेछन् । त्यसपछि केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनछ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइने जानारी दिनुभयो ।

महानगरले स्वास्थ्य बिमा कार्यक्रमकालागि महानगरका ३२ वटै वडाका लागि बिमा दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगीको तालिमपछि बिमित भएको मितिले ३ महिनापछि सेवाग्राहीले सेवा सुविधा प्राप्त गर्ने महानगरले जनाएको छ ।