आइतवार, बैशाख १६, २०८१

अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमि नगरपालिकाको निर्देशन

मध्यपुर थिमि नगरभित्रको मौलिक नाम प्रतिस्थापनका लागि समिति गठन

भक्तपुर भाद्र १४,
मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मंगलवार सार्वजनिक सूचना प्रकाशन गरी सडक अतिक्रमण हुने गरी बनाएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

नगरपालिकाले नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत बनाएक संरचना निर्माण गरिएको पाईएकोले त्यस्ता संरचना हटाउन र नक्सा पास गर्दा बखतको संरचना मात्र राख्न निर्देशन दिएको हो ।

नगरपालिकाले सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने, अव्यवस्थित रुपमा सवारी साधनहरु पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले त्यस्ता कार्य समेत नगर्न निर्देशन दिएको छ । उल्लेखित भए गरेका कार्यहरु सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानून बमोजिम कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

 यसैवीच मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जिवित गर्नेका समिति समेत गठन गरेको छ । नगरपालिका क्षेत्रभित्र तिव्र गतिमा बढेको शहरीकरण तथा बस्ती बिस्तारसँगै जथाभावी टोल, सडक र गल्लीको नामाकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको ठहर सहित नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मौलिक नामलाई पुनर्जिवित गर्ने अभियानको सुभारम्भ गर्दै स्थानीय अभियन्ता ई. राजेन्द्र तुँबजा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनु अघिको तत्कालिन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई दुई जना सदस्य चयन गरिएको छ । समितिको सदस्यमा तत्कालिन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्र बहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साँछें श्रेष्ठ र कृष्णकाजी (के के) मानन्धर, चपाचोबाट धर्म सुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सी भक्त घजु र विनोद कोजु तथा बोदेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य रहनु भएको छ।