शनिबार, बैशाख २९, २०८१

आज छठ पर्वको मुख्यपूजा सँझिया घाट धुमधामका साथ मनाइदै

काठमाडौं कात्तिक २४ ,
आज छठ पर्वको मुख्यपूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै छ ।  आजको दिन मुलत पानीसमेत नपिई निराहार बस्दै  आज साँझ ५ :१० बजे सूर्यास्तको समयमा   नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठमातालाइ वर्तालुले नियम निष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ ।

त्यस्तै प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा बेहुली झै सिंगारिएकॊ घाटमा रातभर भजन किर्तन र नाचगान समेत गर्ने प्रचलन रहिआएको छ ।

 यसअघि विहिवार ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्री प्रसादका रुपमा अर्पण गर्ने प्रचलन रहिआएको छ ।त्यस्तै भोली प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणमा उल्लेखभएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको प्रसंगको उठान सहित त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख गरिएको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

छठ पर्वको अवसरमा राजधानीको टङकेश्वर, गुहेश्वरी, गहनापोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाट लगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लाग्ने गर्दछ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।