सोमवार, बैशाख १७, २०८१

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं भाद्र ८ , आज भाद्र शुक्ल तृतीया अर्थात नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भगवान शिवको आराधना एवम् नाचगान गर्दैहर्षोल्लासमय  रुपमा मनाउँदैछ । तीज हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण पर्वको रुपमा रहेको यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।  यसैक्रममा  हरितालिका तीजका अवसरमा भगवान शिवको पूजा अर्चना र दर्शका लागि राजधानीको गौशाला स्थित पशुपतिनाथ मन्दिरमा आज बिहान ३ बजेदेखि नै भक्तजनको भीड सहित लामा लागेपछि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता  रहिआएको छ ।  कोषले भगवान शिवको दर्शका लागि आउँने भक्तजनको सुविधालाइ दृष्टिगत गर्दै पशुपति मन्दिरभित्र प्रवेशका लागि पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको जनाएको छ ।  यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।