सोमवार, बैशाख १७, २०८१

लागुऔषध तस्करीमा तानिएका पूर्वसभासद् अग्रवाल फरार

काठमाडौ आश्विन १३, औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन(सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल madhusudan-agrawal-1छानबिनमा तानिएका छन् । अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट (जिएमपी) लाइसेन्स रद्द भएको खवर आजको नयाँपत्रिकामा प्रकाशित रहेको छ। त्यस्तै खवरमा प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको छ ।

‘उनीहरूले ल्याएको प्रिकर्सर रसायन र उत्पादन गरेको औषधिमा धेरै तलमाथि देखियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘रसायन डाइभर्सन भएको पुष्टि भएपछि कारबाहीस्वरूप लाइसेन्स रद्द गरेका हौँ, थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’ अनुसन्धान सुरु भएलगत्तै अग्रवाल फरार छन् । उनी पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट समानुपातिक सभासद् थिए ।  लामो समयदेखि अग्रवालको कम्पनीले रसायन आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरूलाई बिक्री गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार छानबिन सुरु भएपछि कम्पनीले औषधि व्यवस्था विभागमा नक्कली ब्याच मेनिफेक्चिरिङ रिपोर्ट (बिएमआर) बुझाएका थिए  । त्यससम्बन्धी फाइलहरू लिएर लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले अनुसन्धान अघि बढाएको छ । विभागबाट फाइल ल्याएर अनुसन्धान भइरहेको र सञ्चालकहरू फरार रहेको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए ।