बिहिबार, बैशाख २०, २०८१

मारवाडी युवा मञ्च भैरहवा सेमी फाइनलमा

काठमाडौं चैत १७ ,  दोस्रो मारवाडी क्रिकेट लिग अन्तर्गत भएको पहिलो क्वार्टर फाइनल खेलमा विजयी हुँदै मारवाडी युवा मञ्च भैरहवा सेमी फाइनल प्रवेश गरेको छ । बुधबार नारायणगढको क्याम्पा चौरमा भएको खेलमा भैरहवाले मारवाडी युवा मञ्च चितवनलाई १८ रनले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्ता पाएको भैरहवाले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ३९ रन बनाउन सफल भएको थियो । एक सय ४० रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको Cricket1-e1441789990740चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय २१ रनमा समेटिन पुग्यो ।
भैरहवाको जितको लागि शुभम अग्रवालले २६ बलमा २५ रन, पियुस अग्रवालले २८ बलमा २४ रन र दामोदर शर्माले नट आउट १४ बलमा १८ रनको योगदान दिए । त्यसैगरी, भैरहवाका शुभम् अग्रवालले चार ओभरमा २३ रन खर्चिदै दुई विकेट, सुनिल सेटियाले चार ओभरमा २५ रन खर्चिदै दुई विकेट र अशोक डागाले चार ओभरमा २९ रन खर्चिदै दुई विकेट लिएका थिए । एक सय ४० रनको विजय लक्ष्य पछ्याएको चितवनको लागि रन्जन अग्रवालले सर्वाधिक ३८ बलमा ४१ रन र विकास बर्माले नट आउट नौ बलमा ११ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोर अंक जोड्न सकेनन् ।
चितवनको लागि नितेश महेश्वरीले तीन ओभरमा ३५ रन खर्चिदै दुई विकेट, विकास वर्माले चार ओभरमा ३६ रन खर्चिदै दुई विकेट र सचिन पोडारले चार ओभरमा १६ रन खर्चिदै एक विकेट लिएका थिए । बुधबारको खेलमा भैरहवाका अलराउण्डर खेलाडी शुभम अग्रवाल म्यान अफ दी म्यान घोषित भएका थिए । बिहीबार मारवाडी युवा मञ्च जनकपुर र मारवाडी युवा मञ्च धनगढीबीच दोस्रो क्वाटर फाइनल खेल हुने पश्चिम क्षेत्रका फिल्ड व्यवस्थापक सञ्जय अग्रवालले जानकारी दिए । मारवाडी लिग अन्तर्गत पूर्व क्षेत्रको खेल बिराटनगरमा र पश्चिम क्षेत्रको खेल नारायणगढमा भइरहेको छ । दुवै तर्फको समूह विजेताहरु चैत २२ गते बिराटनगरमा हुने फाइलनमा प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय महासचिव सञ्जय अग्रवालले जानकारी दिए ।