शुक्रबार, बैशाख १४, २०८१

आन्दोलनको क्रममा तोडफोड र आगजनीको कार्य नगर्न आयोगको आग्रह

काठमाडौ माघ २१, राष्ट्रिय मानवअधिकार आयोगले मधेस आन्दोलनको नाममा केहि दिन यत जारी तोडफोड, आगजनीका कार्य रोक्न लोकतान्त्रिक मधेसी मोर्चालाई अनुरोध गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी प्रेस विज्ञप्तिमार्फत मोर्चाले विभिन्न  पार्टीका नेता तथा कार्यकर्तालाई धनुषा जिल्ला प्रवेशमा रोक लगाई उनीहरूको घर तथा सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको जनाई त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

त्यस्तै विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वसाधारणको ज्यान जाने गरी कारबाही नगर्न तथा झडप हुने स्थिति आउन नदिई संयमता अपनाउन आयोगले सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । शान्तिपूर्वक भेला भई आन्दोलन गर्न पाउने अधिकारको रक्षा गर्दै वार्ता र संवादका माध्यमबाटै यथाशीघ्र विद्यमान समस्याको हल निकाल्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा परि घाइते भएका प्रदर्शनकारी तथा प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेकाहरुको निःशुल्क उपचार व्यवस्था मिलाउन पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।