शनिबार, बैशाख १५, २०८१

अघोषित भारतीय नाकाबन्दी, राजनीतिक दबाव र हस्तक्षेपको महासंघद्वारा खेद व्यक्त

काठमाडौं आश्विन १४, नेपाल पत्रकार महासंघले नयाँ संविधान जारी हुने क्रमसँगै देशका विभिन्न भागमा सुरू भएको आन्दोलन र संविधान जारी भैसकेपछि देशभित्र चर्किएको विरोध प्रदर्शन तथा छिमेकी मुलुक भारतबाट भएको अघोषित नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । र, यसको प्रत्यक्ष मार नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यममा समेत परिरहेको जनाएको छ ।

महासंघका अध्यक्ष डा महेन्द्र विष्टद्दारा आज जारी प्रेस वक्तब्यमा यसवीचमा महासंघले गरेको अनुगमन अनुसार, संविधानकै विषयलाई लिएर भएको आन्दोलनका क्रममा पछिल्लो तीन महिनामा एक जना पत्रकारलाई गोली लागेको छ भने २१ जनामाथि भौतिक आक्रमण तथा कूटपीट र १९ पत्रकारमाथि FNJ Release 14 Asojदुव्र्यवहार तथा हातपात हुनुको अलावा स्वतन्त्र पत्रकारितामा बाधा पु-याउँदै भएका सञ्चारमाध्यममा आगजनी, सञ्चारमाध्यमका सवारी साधान तोडफोड र महासंघको शाखा भवन आगजनी लगायतका ९ वटा घटना भएको उल्लेख गरिएको छ ।

त्यस्तै वक्तब्यमा प्रस्तुत घटनाका कारण दर्जनभन्दा बढी एफएम स्टेशन र पत्रपत्रिकाहरूको प्रसारण/प्रकाशन अवरूद्ध भएको छ भने आक्रमणको धम्कीका कारण कतिपय पत्रकारहरू कार्यक्षेत्रबाट पलायन हुनुपरेको जोखिमपूर्ण अवस्था विद्यमान रहेको उल्लेख गरिएको छ । त्यस्तै तराइ मधेश क्षेत्रमा सार्वजनिक आवागमन बन्द भएको र देशका सवैजसो भागमा पेट्रोलियम पदार्थ तथा न्यूजप्रिन्टलगायत कच्चा पदार्थको आपूर्ति हुन नसकेकाले विराटनगरबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरूको प्रकाशन बन्द भएको छ भने यही क्रम जारी रहेमा केही दिनभित्रै देशका अन्य क्षेत्रबाट समेत धमाधम सञ्चारमाध्यमहरू बन्द हुने अवस्था सिर्जना भएको जनाइउँदै वक्तब्यमा अगाडि महासंघ संविधानको विषयलाई लिएर उत्पन्न राजनीतिक समस्याको राजनीतिक समाधान खोज्न र त्यसका निम्ति तत्काल लचकताका साथ निर्णायक वार्ता गर्न संस्थापन र आन्दोलनकारी पक्षलाई विशेष आग्रह गर्दै  मुलुकका आन्तरिक विषयलाई आन्तरिकरूपमै समाधान गर्न प्रोत्साहित गर्नुपर्ने मित्रराष्ट्रको दायरालाई नाघेर छिमेकी मुलुक भारतबाट पछिल्लो समयमा भैरहेको अघोषित भारतीय नाकाबन्दी, राजनीतिक दबाव र हस्तक्षेप्रति खेद व्यक्त गर्दैै महासंघ दुई मुलुकबीच शदियौंदेखि जनस्तरमा कायम रहेको बहुआयामिक सम्बन्धलाई मनन गरी तत्काल बिनाशर्त नाकाबन्दी खुला गर्न र सार्वभौम छिमेकी मित्रराष्ट्रप्रति सम्मानजनक व्यवहार प्रस्तुत गर्न भारत सरकारलाई आग्रह गर्दछ । साथै, विद्यमान असमझदारीको अन्त्य गरी विश्वासपूर्ण हार्दिक सम्बन्ध कायम राख्न दुवै मुलुकलाई सघन कूटनीतिक पहल गर्न पनि महासंघ अपील गर्दछ भन्दै मुलुक कठिन अवस्थामा पुगेको बेला अझ बढी संवेदनशील भएर गम्भीरताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वप्रति नेपाली मिडिया जगत सचेत रहेको छ । महासंघ सो दायित्व निर्वाह गर्न अत्यावश्यक पर्ने सामग्रीको आपूर्ति व्यवस्था तथा पूर्वाधारमा विशेष ध्यान दिइदिन र पत्रकार तथा सञ्चारमाध्यमको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकार एवं सम्बद्ध सवैसँग विशेष आग्रह गरिएको  छ ।