शुक्रबार, बैशाख १४, २०८१

पत्रकार कुटपिट गर्ने लिम्बूवानका कार्यकर्तालाइ तत्काल पक्राउ गर : महासंघ

बन्द हड्तालका नाममा प्रेसमाथि हुने आक्रमण प्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं भाद्र १५ , संघीय लिम्बुवान पार्टी नेपालले आहृवान गरेको बन्दका क्रममा आज नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वसभापति तथा स्थानीय अर्जुनधारा दैनिकका सम्पादक कृष्ण हुमागाईलाई लिम्बूवान कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

FNJ-logo-300x246महासंघ झापा शाखाका अनुसार समाचार संकलनको क्रममा आज दिउँसो २ः ०० बजेतिर मे २ प ५३६७ नम्बरको मोटरसाइकलबाट बिर्तामोडको मुक्तिचोक पुगेका सम्पादक हुमागाईलाई आन्दोलनकारीले पत्रकारका परिचयपत्र देखाउँदा–देखाउँदै प्रहरीकै सामुन्ने एक्कासि आक्रमण गरी कुटपिट गर्नुका साथै मोटरसाइकलसमेत तोडफोड गरेको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ । त्यस्तै विज्ञप्तिमा लिम्बूवान कार्यकर्ताको आक्रमणबाट गम्भीर भएका सम्पादक हुमागाईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भैरहेको जनाउँदै महासंघले पत्रकार हुमागाईमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

यसैबीच नागरिकलाई सुसूचित गराउन खटेका पत्रकारमाथि कुनै पनि पक्षबाट आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्दै महासंघले भाद्र १४ गते संयुक्त मधेसी मोर्चाका बन्दकर्ताले विराटनगरस्थित मकालु टेलिभिजनको प्रेस लेखिएको बा १० च ३९३७ नम्बरको गाडी र हिमालय टाइम्स दैनिकको पूर्वाञ्चल क्षेत्रीय प्रमुखको को १३ प ९७३ को मोटरसाइकल तोडफोड गरेको तथा वीरगञ्जमा पत्रकार जगत राईमाथि प्रहरीबाट कुटपिट भएको घटनाको कडा शब्दमा भत्र्सना गरेको छ ।
साथै बन्द हड्तालका नाममा प्रेसमाथि हुने यस्ता कार्य तत्काल वन्द गरी प्रेसप्रति सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै पत्रकारलाई स्वतन्त्र र निर्भयपूर्वक पत्रकारिता गर्ने वातावरण निर्माण गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।