शुक्रबार, बैशाख १४, २०८१

शुल्कवृद्धि फिर्ता नलिएसम्म आन्दोलन

काठमाडौ वैशाख ५,    विभिन्न राजनैतिक दल आवद्ध विद्यार्थी सङ्गठनको संयोजनमा आज राजधानीमा निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि गरेको शुल्कवृद्धिको सवाल सम्बोधनको लागि बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ । उक्त छलफलमा शुल्कवृद्धिका कारण सिर्जित विरोध तथा आन्दोलनलाई वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन ।
छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मन्त्रालयले सरोकारवाला सम्पूर्णलाई औपचारिक रुपमा छलफलका लागि आमन्त्रण गरेर वार्ताको टेबलबाट नै यो समस्यालाई सुल्झाउन तयार रहेको बताउनुभएको छ भने शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले २२ प्रतिशतदेखि ४४ प्रतिशतसम्म शुल्क वृद्धि भएको भनिएकाले विभागले यसको अनुगमन गरिरहेको जानकारी दिनु भएको थियो ।

त्यस्तै एनप्याब्सनका पूर्व अध्यक्ष उवम्सभासद गीता राणाले आफूहरुले विधानअनुरुप नै विद्यालयमा शुल्कवृद्धि गरेको दावी गर्दै शिक्षकलाई तलब खुवाउने जिम्मा सरकारले लिने हो भने कुनैपनि प्रकारको शुल्क विद्यार्थीबाट नलिने भन्दै गर्दा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी र एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थी सङ्गठनले विद्यालय बन्द गर्नेजस्ता काम गरेर कानुन आफ्नो हातमा लिएको भन्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक सङ्गठनका अध्यक्ष धर्मदत्त देवकोटाले विद्यार्थी सङ्गठनले शुल्कवृद्धिको विरोधप्रति ऐक्यबद्धता जनाउँनु भएको उक्त कार्यक्रममा नेवि सङ्घका प्रवक्ता युपी लामिछाने ,मधेशी विद्यार्थी सङ्घका अध्यक्ष कपिलेश्वर यादव नेकपा माओवादी निकट विद्यार्थी सङ्गठनका संयोजक शरद रसाइली, अनेरास्ववियु क्रान्तिकारीका संयोजक रमेश मल्ललगायतले विद्यालयले गरेको शुल्कवृद्धि नाजायज भएकाले शुल्कवृद्धि फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको थियो ।