शनिबार, बैशाख १५, २०८१

आज विश्वभर १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै

काठमाडौं फागुन २४,  आज १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस, “मेक इट ह्यापेन” भन्ने विश्व नाराका साथविभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । नेपालमा पनि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूले पनि “लैङ्गिक मैत्री संविधान, महिला हिसांको निदान” भन्ने नाराका साथ आज दिवस मनाउने भएको छ ।
INTERNATIONAL-WOMENS-DAY_20120309092824दिवसका अवसरमा सभा, गोष्ठी, सांस्कृतिक कार्यक्रम हुदैछन् ।

महिला, बालबालिका तथा हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । महिला माथि हुने सबै उत्पीडनको अन्त्यका साथै राजनीतिक निकायहरूमा समान सहभागिताको माग गर्दै सन् १९११ देखि यो दिवस मनाउने गरिएको हो । सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार ८६ करोड महिलाहरूलाई अहिले पनि आर्थिक गतिविधिबाट वञ्चित गराइएका छन् ।

यसैवीच अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले आज संयुक्त विज्ञप्ति जारी गरी महिला सशक्तीकरणका क्षेत्रमा नेपालमा केही उल्लेख्य प्रगति भए पनि महिला सशक्तीकरणसम्बन्धी विषय कार्यान्वयनमा अझै गम्भीर चुनौती र अवरोध रहेको जनाएको छ ।

महिला समानता, उनीहरूको अधिकार एवम् सशक्तीकरण, दलित, आदिवासी, जातीय समुदाय, जोखिममा परेका समुदाय, शारीरिक रूपमा अक्षम, मधेसी, मुसलमान, शिख, सशस्त्र समूहबाट पीडित तथा सशस्त्र द्वन्द्वका चपेटामा परेका, पृथक लिङ्गीय पहिचान र यौनिकतायुक्त वर्गका चासोलाई सम्बोधन गर्ने २० विशेष विषय समेटिएको काठमाडौँ घोषणा विज्ञप्तिमा  उल्लेख  गरिएको छ ।