शनिबार, बैशाख १५, २०८१

राष्ट्रहित विपरीत कुनै सम्झौता हुँदैन : प्रम

काठमाडौ भाद्र ५, प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रहित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । भारतसँगको विद्युत् व्यापार susil1सम्झौता र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता हतारमा हस्ताक्षर नगर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज गएको नेकपा–माओवादीसहित १० दलका नेताहरूको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपाललाई तल पारेर कुनै सम्झौता नुहनेमा आश्वस्त पार्दै आफूले राष्ट्रियतामा आँच आउन नदिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइरालाले प्रतिनिधिमण्डललाई भारतको हिजो र अहिलेको अवस्थामा परिवर्तन आएकाले सधँै शङ्काको दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो ।

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले नेपाल भ्रमणका क्रममा आफ्ना छिमेकी राष्ट्रसँग समानता र सार्वभौमिकताको आधारमा सम्बन्ध विकसित गर्न चाहेको तथा थिचोमिचोमा पारेर लेनदेन गर्न नचाहेको कुरा आफूसँग राखेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइरालाले मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपाल भ्रमणको क्रममा आफूसँगको भेटमा मलेसियाको विकासको आधार विदेशी लगानी रहेको स्मरण गराउँदै नेपालमा विदेशी लगानी आउँदा नतर्सन प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।  बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रतिपक्षी दलहरूले देखाएको संवेदनशीलताले देश र जनताको भविष्यप्रति आफूलाई झनै आशावादी बनाएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो । तीनबुँदे ज्ञापनपत्रमा भारतसँग सम्झौता गर्नुपरे सर्वदलीय सहमति कायम गरेर मात्रै गर्र्नुपर्ने, आन्तरिक आपूर्तिमुखी विद्युत् परियोजना निर्माण राज्यले मात्रै गर्नुपर्ने, निजी क्षेत्रले विद्युत् निकाल्दा चिलिमे र माथिल्लो तामाकोसी नमुनाअनुसार बनाउनुपर्ने उल्लेख गरिएको छ ।  भेटमा माओवादीका महासचिव रामबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(माले)का नेता कुमार बेल्बासे, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललगायतका नेताहरूको सहभागिता रहेको थियो । रासस