शुक्रबार, बैशाख १४, २०८१

खोप्रा लेकमा जिउँदो चौंरी गाईको आलो रगत पिउने मेला

 काठमाडौं श्रावण  ७, जिउंदो चौरीको गर्दनबाट भुलभुल निक्लेको आलो रगत प्यालाभरी भर्दै मान्छेहरु आँखा चिम्लिएर एकै सासमा घुड्काइ रहेका हुन्छन् । चौंरीको गर्धनबाट भुलभुल रगत धारा छुटेर आईरहेको हुन्छ । मान्छेहरु हात-हातमा पचास रुपैयाँको नोट र रगत थाप्न प्याला बोकेर तँछाड-मछाड गरी रहेका देखिन्छन । म्याग्दीको र मुस्ताङ्गको विभिन्न लेकमा साउने संक्रान्तीदेखि  चौंरीको आलो र तातो रगत पिउने मेला सुरु भएको छ ।

चाचौंरी गाईर दिन सम्मको पैदल हिंडेर करिव चार हजार उचाईको यी लेकमा रगत पिउन आउनेहरुको भीड प्रत्यक वर्ष बढ्दो छ । चौंरीको आलो रगत पिउंनाले ग्याष्टिक रोग निको हुनुको साथै यौनशक्ति पनि बढ्ने विश्वास यहाँका बासिन्दामा रहेको छ । ‘चौंरीको रगतले ग्याष्टिक रोगलाई राम्रो गरेपनि उच्चरक्तचापका विरामी र धम्कीका रोगीले भने चौंरीको रगत भुलेर पनि पिउनु हुंदैन्’ स्थानीय मुलीखर्कका मुखिया लाल बहादुर गौचनको सुझाव छ ।

    चौंरीको रगत पिउने मेला म्याग्दीको खेप्रा लेक र मुस्ताङ्गको मार्चे लेक, मुलीखर्कलेक, बतासेलेक लगाएतका दर्जन बढी ठाउँमा लाग्ने गर्छ । स्थानीय बोलीचालीको भाषामा उच्च हिमाली चरण क्षेत्रलाई लेक वा खर्क भन्ने गरिन्छ । चौंरीको रगत पिउने चलन कहिले देखि सुरु भएको हो भन्ने यकिन तथ्याड्ढ छैन् । तर मुस्ताङ्गको उपल्लो क्षेत्रमा धेरै पहिलेदेखि चौंरीको रगत पिउनेे चलन रहेको पाईन्छ । त्यसैको सिको गरेर बेंशीका गाउँहरुमा दशैंमा ल्याईएका मुस्ताङ्गी च्याग्राको रगत पिउने गरिन्थ्यो । चौंरीको आलो रगत पिउन पल्केकाहरु प्रत्यक बर्ष हजारौंको संख्यामा रगतको प्यास मेट्न कष्टकर यात्रा गरी उच्च हिमाली लेकमा पुग्ने गरेका छन् ।

    चौंरीको आलो रगत पिउंन जिल्लाकामात्र नभै पोखरा, काठमाण्डौ,तनहुं, पर्वत र वाग्लुङ्ग सम्मका मानिसहरु पुग्छन् । हिमाली जडिबुटिका साथै यार्सागुम्बा -स्थानीय बोलीचालीमा पुष्टकारी) खाएका चौंरीको रगत आफैमा ओखती भएको ठानी यसरी रगत खाने चलन पुरानो हो । ग्यांष्टिकको उपचार हुने भनिए पनि यो चौंरीको रगत र माशुको ब्यापार गर्ने गतिलो व्यापारिक मेला नै हो ।

    म्याग्दीको खोप्रामा गरिने चौरीको रगत खाने मेलाबाट स्थानीय हिमाञ्चल मावि र पाउद्धार माविको राम्रो आम्दानी गरेका छन् । यहा यी विद्यालयले संयुक्त रुपमा चौरी पालन गरेका छन् । विद्यालयको चौंरी गोठमा सयबढी चौंरी छन् । रगत बेचेको पैसा स्थानीय पाउद्धार मावि र हिमाञ्चल माविले बांडेर लिने गर्छन् । ‘चौंरीको रगत र माशु बेचेर हाम्रो विद्यालयले बाषिर्क ६० हजारबढी आम्दानी गर्दै आएको छ’ हिमाञ्चल माविका प्रधानध्यापक रमन पुन बताउंछन् ।

    चौंरी गाईको रगत पिउने व्यापार राम्रो भएपनी चौंरीबाट रगत झिक्नभने सजिलो छैन् । चौंरी बस्ने ठाउँलाई खर्क भनिन्छ । रगत झिक्नु पहिले खर्कमा थुनिएका चौंरीलाई पालैपालो समातिन्छ । अनि डोरीले बाँधेर हलचल गर्न नसक्ने बनाईन्छ । आम्जीले चौंरीको गर्धनमा रगत बग्ने नसालाई ठाडो चिरेर रगत झिक्छ । चौंरीको रगत झिक्ने ब्याक्तिलाई आम्जी वा डाक्टर भनिन्छ । ठुलो चौंरीबाट २० देखि ३० गिलास सम्म रगत झिकिन्छ । रगत झिकिसकेपछि घाउमा चौंरीकै गोबर दलेर छोडिन्छ । यसो गर्दा रक्तश्राप पनि हुंदैन र चौंरीलाई समस्या पनि पर्दैन भन्ने उनीहरुको दावी छ । रगत विहान र बेलुका गरी दिनको दुई छाक खुवाईन्छ । पचाउन सक्नेले थप कप रगत पिउँछ । रगत खान केटाकेटीदेखि ७० बर्षे बुढापाका सम्म पुग्छन् । रगतको मुल्य प्रतिकप ७० रुपैया तोकिएको हुन्छ तर विभिन्न खर्कहरुको आ-आफ्नै नियम रहेका हुन्छन् ।

    चौंरीको रगत पिउँदा श्वास्थ्यलाई फाईदा मात्र पुर्‍याउंदैन रोगी चौरीको रगत पिउँदा उसका रोग पनि मान्छेमा सर्ने खतरा रहन्छ । चौंरीले उच्च हिमाली जडिबुटि मात्र होइन विषालु घाँस पनि खाने हुंदा चौंरीको आलो रगतले राम्रो मान्न तयार छैनन्, विज्ञहरु । ‘यदी चौंरीको आलो रगत पिउनेनै हो भने त्यस्ता चौंरीको श्वास्थ्य परिक्षण गरि पशु प्राविधिकले निरोगी भनि प्रमाणीत गरेको चौंरीबाट मात्र रगत निकाल्ने व्यवस्था गर्नु पर्ने विज्ञहरुको सुझाव रहेको छ ।

    रगत पिउने मेलामा माशु, घ्यू, छुर्पीको समेत विक्री हुन्छ । ठुलो याक वा चौंरीलाई २० देखी ३० हजार मोलेर काटिन्छ । याकको शुकुटी निक्कै स्वादिलो मानिन्छ । चौंरी गाईको घ्यु बाथका रोगीलाई मालिस गर्न राम्रो मानिन्छ । एक माना चौंरीको नौनी घ्यूलाई तीन सय रुपैयां पर्छ । चौरीको पुच्छर पनी महंगोमा विक्री हुन्छ ।  kuwaitnepal.com बाट