शनिबार, बैशाख १५, २०८१

विभिन्न स्थानमा आपराधिक घटनामा संलग्न नौ जना पक्राउ

 काठमाडौं माघ ८, देशका विभिन्न स्थानमा आपराधिक घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ nepal prahari। त्यस्तै विभिन्न दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरी समाचार कक्षले जनाएको छ ।  काठमाडौँ महानगरपालिका–१८ बस्ने १८ वर्षीय सन्नी गुरुङसहित चार जनालाई प्रहरीले सिक्सर पेस्तोल एक थान र सोको गोली एक राउन्डसहित आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धुम्बाराही चोकनजिक खाली चौरमा शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका–३ मा आज बा५०प ३११३ नम्बरको मोटरसाइकलले शिवपुरी बस्ने ६५ वर्षीया मनकुमारी घिमिरेलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ ।

कास्की : पोखरा उपमहानगरपालिका–९ नयाँबजारमा आज ग१ख १९७१ नम्बरको माइक्रोबसले सोही उपमहानगरपालिका–१७ छोरेपाटन बस्ने काभ्रे जिल्ला घर भएका ४० वर्षीय पैदलयात्री पूर्णबहादुर परियारलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको छ ।

चितवन : भरतपुर नगरपालिका–१२ बस्ने ३६ वर्षीय जनक लिम्बु, ४६ वर्षीय सविनमान श्रेष्ठ, ३६ वर्षीय सन्जोक कपाली र तनहुँ दुलेगौडा–७ बस्ने ३५ वर्षीय अन्जन श्रेष्ठलाई प्रहरीले जापानी लेन्सवाला लोड भएको २२ म्याग्नम हतियार २ थान, सोको गोली २ राउण्ड , म्याग्जिन २ थान र खोका २ थानसहित पक्राउ गरेको हो ।

त्यस्तै सोही नगरपालिका–१ रामनगर बजारमा सोही नगरपालिका–११ घर भएका देवरथ थपलियाले सञ्चालन गरेको राईस मिलमा आज विद्युत् सर्ट भएर आगलागी हुँदा रु २० लाख बराबरको धनमाल जलेर क्षति भएको छ ।

झापा : जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले आज काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको डव्लु बि ११ डि ८७८८ नम्बरको भारतीय कन्टेनरलाई भद्रपुर नगरपालिका–१२ बसपार्कमा जाँच गर्दा तीन हजार केजी सुक्खा सुपारी बरामद भएकाले कन्टेनर चालक भारत बिहार बस्ने २४ वर्षीय जङ्गबहादुर कुशवाहलाई नियन्त्रणमा लिएको छ ।