काठमाडौ श्रावण २२, राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ । रौतहटको गरुडा नगरपालिका–४, गौर–चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिनका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको आयोगद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा “विकासको अधिकार मानव अधिकारको अभिन्न अङ्ग हो, आम नागरिकको विकासको अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्दा सरकारले मानव अधिकार विकास पद्धतिको अवलम्बन गर्नुपर्नेमा जोड दिदै आम नागरिक र विशेषगरी बालबालिका, महिला, वृद्ध, अपाङ्गता भएका व्यक्तिको जीवनको अधिकारको संरक्षण गरिनुपर्नेमा सरकार जिम्मेवार रहनुपर्ने आयोगले स्मरण गराउँदै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै आयोगले भविष्यमा यस्ता लापरबाहीपूर्ण कार्य हुन नदिन सरकार जिम्मेवार हुन र यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति पूर्ण संवेदनशील हुँदै दोषीलाई कारबाहीको माग सहित भविष्यमा यस किसिमको घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसतर्कता अपनाउन तथा पीडित परिवारलाई उचित राहत एवम् क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।