मङ्लबार, बैशाख १८, २०८१

मैथिली नाटक डोमकछ विमोचित

काठमाडौ मार्ग २८ ,रंगकर्मी तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जन लिखित डोमकछ नामक मैथिली नाटकको राजधानीमा आज मञ्चन गरिएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको शिल्पी नाट्य थिएटरमा आयोजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, प्राध्यापक रामावतार यादव, नेता रामचन्द्र झालगायतले सामूहिक रुपमा विमोचन गर्नुभयो । वक्ताहरुले मैथिली भाषाको समृद्ध भाषा साहित्य र संस्कृतिको Image1 Image2परम्परा भएपनि राज्यबाट त्यसलाई स्वीकार्ने काम हुनुपर्ने बताएका थिए ।

रत्यौली परम्परा जस्तै मिथिलाञ्चलमा लोकप्रिय डोमकछ नारी उन्मुक्तताको प्रतीक नाँच पनि हो । पुरुषहरु घर बाहिर रहेको बेला महिलाहरु मात्रको सहभागितामा यो नृत्य गर्ने प्राचीन परम्परा रही आएको छ । डोमकछ नाटक नेपाल र भारतका विभिन्न स्थानमा दर्जनौं पटक प्रदर्शित भइसकेको नाटककार रमेश रञ्जनले बताउनुभयो । लोक नाट्यको मौलिक रुपको संरक्षण र नयाँ अर्थ स्थापनाको प्रयत्न यस नाटकको विशेषता भएको उहाँले बताउनुभयो । रमेश रञ्जन लिखित रक्तवर्षा कविता संग्रह र सङोर उपन्यास प्रकाशित भइसकेका कृति हुन् । मिथिलामा स्त्री अभिव्यक्ति र स्त्रीको अन्तर सौन्दर्यको यथार्य चित्रण नाटकमा गरिएको विमोचन कार्यक्रममा वक्ताहरुले बताएका थिए । कार्यक्रममा पत्रकार धर्मेन्द्र झा, साहित्यकार धिरेन्द्र प्रेमर्षिलगायतले नाटककार रमेश रञ्जनको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।