काठमाडौ पौष १९ ,गत २०६९ साल जेष्ठ १८ गते ललितपुरको बंगलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च अदालत जाँदै गरेका सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली प्रहार गरि नियोजित हत्या भएको करिव साढे दुई वर्षपछि प्रहरीले चुरेभावर पार्टीका पूर्वउपाध्यक्षसहित ४ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले प्रहरी मुख्यालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले न्यायाधीश बमको हत्यामा संलग्न ५ जनामध्ये ४ जनालाई सार्वजनिक गरिएको हो ।
हत्यारा सार्वजनिक गर्न आयोजित उक्त पत्रकार सम्मेलनमा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले पक्राउ परेका चुरेभावर एकता पार्टीका पूर्वउपाध्यक्ष बाबु थापाको भनाई उदृत गर्दै आफ्नो पार्टीलाई मान्यता नदिने गरी सर्वोच्च अदालतबाट न्यायाधीश बमको एकल इजलासले गरेको फैसलाको प्रतिशोधको रुपमा उनको हत्या गरेको जानकारी दिनुभएको थियो ।
प्रहरीले घटनामा संलग्न ५ मध्ये हत्याका मुख्य योजनाकार बाबु थापा, करण चौधरी, नवीन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई पक्राउ गरेको र बाँकी अभियुक्त अर्थात न्यायाधीश बममाथि गोली प्रहार गर्ने व्यवसायिक ‘सुटर’ भगवान भनिने संजय इस्लामिक मगर भने साउदी अरबमा रहेको प्रहरीले जनाउँदै उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत् ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी गरेको जनाएको छ ।