काठमाडौँ आषाढ २३, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले इमेल ठेगानाको पासवर्ड चोरी गरी विभिन्न ग्राहकलाई अनाधिकृत व्यवसायिक फाइदा लिने कार्य गर्दै आएका अवेश गौतमलाई आज पक्राउ गरेको छ ।
आईडिएल नेपाल ट्राभल्स प्रालि दरबारमार्गको इमेल ठेगाना Info@nepaltravelsonline.comको पासवर्ड चोरी गरी सोको दुरूपयोग गरी आईडिएल नेपाल ट्राभल्स प्रालिका विभिन्न ग्राहकलाई लाभ पु-याउने मनसायले सो कार्य गरेको र विद्युतीय कारोवार ऐन २०६३ मा उल्लेखित कसुर अपराधमा संलग्न उक्त कम्पनीका पूर्व कर्मचारी तथा नेपाज् हेरिटेज ट्राभल्स एण्ड टुर प्रालिका वर्तमान सञ्चालक गौतमलाई पक्राउ गरिएको व्यूरोले जनाएको छ । काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने २७ वर्षीय निज गौतमलाई पक्राउ गरी निजको कम्प्युटर, ल्यापटपका सामान फेला पारी परीक्षण पश्चात् आवश्यक कानुनी कारबाहीको लागि जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलमा पेश गरिएको छ ।
यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई विद्युतीय कारोवार ऐन २०६३ अनुसार तीन वर्षसम्म कैद वा रु. दुई लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।