शनिबार, बैशाख २२, २०८१

सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा जुटेको छ: उपप्रधानमन्त्री सिंह

 काठमाडौँ फागुन २५  उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा pm dhinghरहेको बताउनुभएको छ ।  जिल्ला विकास समिति ललितपुरको २३ औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गर्न आज आयोजित कार्यक्रममा उहाँले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा कार्यसञ्चालनमा निकै कठिनाइ बताउनुभयो ।

 जनप्रतिनिधिविहीनताका अवस्थाले गर्दा विकास निर्माणसमेतका कार्य प्रभावित भएको र अनावश्यक झण्झट पैदा भएको उहाँको भनाइ थियो ।  एक वर्षभित्र संविधान निर्माण होस् र स्थानीय निकायको निर्वाचन पनि छिट्टै होस् भन्ने जनचाहना रहेको पनि सिंहले उल्लेख गर्नुभयो ।  ललितपुर जिल्ला राजधानीसँग जोडिएको जिल्ला भएका कारण यहाँको विकासलाई काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लासँग जोडेर गरिनु आवश्यक भएको उहाँले बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कार्य सञ्चालनमा निकै कठिनाइ आइरहेको बताउनुभयो । स्थानीय निकायको निर्वाचनका लागि सरकार प्राविधिक रूपमा तयार रहेको उहाँले उल्लेख गर्नुभयो । ललितपुरका स्थानीय विकास अधिकारी पशुपति पोखरेलले २३ औँ जिल्ला परिषद्ले प्रस्ताव गरेको बजेट तथा कार्यक्रम कार्यान्वयनबाट ललितपुर जिल्लाको समावेशी विकासमा सघाउ पुग्ने, आर्थिक वृद्धि हासिल गर्न मद्दत पुग्ने, रोजगारी र राजस्व अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  परिषद्ले आगामी आर्थिक वर्ष २०७१÷७२ का लागि जिल्लाको कुल रु चार अर्ब पाँच करोड १५ लाख ९३ हजारको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।