सोमवार, बैशाख १७, २०८१

क्षमता मूल्यांकनमा भक्तपुरका चार पालिकामध्ये मध्यपुर थिमि पहिलो

भक्तपुर माघ १५,
भक्तपुरका चार पालिका मध्ये मध्यपुर थिमि क्षमता मूल्यांकनमा पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको नतिजामा मध्यपुर थिमि भक्तपुरका पालिका मध्ये पहिलो भएको हो ।
सो मूल्यांकनको नतिजा अनुसार मध्यपुर थिमि नगरपालिका ८७.५ प्रतिशत अंक ल्याई भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये पहिलो बन्न सफल भएको हो । दोस्रो भएको चाँगुनारायण नगरपालिकाले ८५ प्रतिशत अंक ल्याएको छ । यस्तै तेस्रोमा सूर्यविनायक र चौथोमा भक्तपुर नगरपालिका परेको नतिजाले देखाएको छ । महाशाखाका अनुसार सूर्यविनायकको ८४.२५ प्रतिशत रहेको छ भने भक्तपुर नगरपालिकाको ७५.७५ प्रतिशत रहेको छ ।
यसअघि मध्यपुर थिमि नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि उत्कृष्ट अंकका साथ देशभर छैंठौं र भक्तपुर जिल्लामा पहिलो बन्न सफल भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मध्यपुर थिमि १०० पूर्णाङ्कमा ७९.५ अंकका साथ भक्तपुरका चार पालिका मध्ये पहिलो बन्न सफल भएको थियो ।

यसैगरी चाँगुनारायणको क्षमता मूल्यांकन बढेको छ । स्थानीय तहको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरूको लागि आवश्यक रणनीतिक कार्यदिशा तय गर्न अहम् भूमिका निर्वाह गर्ने एउटा औजारको रूपमा रहेको सो संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा अनुसार चाँगुनारायण नगरपालिकाको मूल्यांकन अंक गएका तीन वर्षभन्दा यस वर्ष उच्च भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकाको मूल्यांकन प्रतिशत ६१ रहेको थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा ४९.२५ मा झरेको थियो ।