सोमवार, बैशाख १७, २०८१

सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

भक्तपुर माघ ८,
मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई सोमवार विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएको सामग्रीहरुमा बेल्चा, गाढा, सेफ्टी उपकरण, फायर फाइटिङ् सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, फायर स्ट्रिङ्रिसर्ट, फायर व्लांकेट, ज्याकेट फायर बल, माइक, रेनकोट, हेडलाईटलगायतका छन ।
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले सम्भावित विपद्लाई रोक्न नसकेपनि विपद्बाट हुने क्षती न्यूनीकरणका लागि सम्भव सबै उपाय अपनाउन नगरपालिका सदैव तयार रहने बताउनुभयो ।

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले विपदका घटनामा खोज तथा उद्धारका लागि सबैभन्दा पहिले सुरक्षा निकाय पुग्ने भएकाले यी सामग्री हस्तान्तरण गरिएको बताउँदै नगरपालिकाले हस्तान्तरण गरिएको सामग्रीले सशस्त्र प्रहरी बलको गुहेश्वरी गण र नेपाली सेनाको भैरव वाहन गुल्मलाई विपद् व्यवस्थापनमा थप क्षमतावान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खोज तथा उद्धार सामग्री बुझ्दै सशस्त्र प्रहरी बल २२ नं. गण गुहेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश महतले दक्ष जनशक्तिसँगै आवश्यक उपकरण भए मात्र विपदका बेला खोज तथा उद्धारको कार्य सहज हुने र विपद्का घटनाबाट हुने क्षती न्यूनिकरण गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा भैरव वाहन गुल्मका प्रमुख, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वियराज सुवेदी, वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले सामग्रीको संरक्षणसँगै सही सदुपयोग हुने विश्वास दिलाउनुभयो ।