बुधबार, जेष्ठ २, २०८१

सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको कडा निर्देशन

  काठमाडौँ माघ ८,

प्रधानमन्त्री प्रचण्डले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन सचेत गराउनुभएको हो।

त्यस्तै उहाँले अहिलेको युग प्रविधिको युग हो। त्यसमा पनि सूचना–प्रविधि महत्वपूर्ण छ। हामीले इन्टिग्रिटेड टेक्नोलोजीमा केन्द्रित भएर परिणाम दिनुपर्छ। त्यसका लागि राज्यका संयन्त्रबीच एकीकृत र समन्वयात्मक कार्य सम्पादन हुनपर्नेमा जोड दिदै सबै कार्यालयमा मैले काम गर्ने होइन, काम त तपाईहरूले गर्ने हो। मैले नीति निर्माण र योजनाको काम गर्ने हो, कर्मचारीतन्त्रलाई परेको अप्ठ्यारोमा गाँठो फुकाउने हो। नीतिगत निर्णय लिने हो। त्यसैअनुसार काम गर्न कडा निर्देशनसमेत दिनुभयो ।

“म प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका लामालामा लाइन हटाउने प्रतिवद्धता गरेको थिएँ” प्रधानमन्त्रीले भन्नुभयो, “एक वर्षको अवधिमा देखिने गरी सुधार त भएको छ। तर, पूरै सुधार भएको छैन। त्यसमा गम्भीर रूपमा ध्यान दिनुस्। विभाग र सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउन समेत उहाँले निर्देशन दिनुभयो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाप्रदायक कार्यालयहरूले उच्च प्रविधिको प्रयोगमार्फत शीघ्र सेवाप्रवाह गर्न प्रधानमन्त्रीको चासो र दिनुभएको निर्देशनलाई गम्भीर रूपमा लिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

त्यस्तै मुख्यसचिव डा बैकुण्ठ अर्यालले एकीकृत डाटा प्रणालीका लागि सेवाप्रदायक परामर्शदातासँग अन्तरक्रिया आवश्यक रहेको बताउँदै विद्यमान डाटा प्रणालीलाई व्यवस्थित गरी सकेसम्म छिटो, प्रभावकारी र एकीकृत सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। पासपोर्टका लागि जनशक्ति कम भएकाले सेवाप्रवाह प्रभावित भइरहेको बताउँदै मुख्यसचिव अर्यालले संगठन तथा व्यवस्थापन सर्भे प्रक्रिया अगाडि बढाउन विभागलाई निर्देशित गर्नुभयो।

बैठकमा निर्देशकहरूले राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, सेवाप्रदायक कार्यालयहरूका समस्या र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो।

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल राहदानी विभागका महानिर्देशक लक्ष्मण खनाल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले आआफ्नो विभागको अवस्थाका विषयमा प्रभानमन्त्रीलाइ जानकारी दिनुभएको थियो ।