सोमवार, बैशाख १७, २०८१

महानगरमा सूचीकृत ६६ जना मेलमिलापकर्ताले लिए सपथ

काठमाडौँ पुस ५,
काठमाडौँ महानगरपालिकामा सूचीकृत ६६ जना मेलमिलापकर्ताहरुलाई आज उपप्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उहाँहरुलाई शपथ गराइएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले भन्नुभयो, ‘कति संख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो हाम्रा लागि नतिजा होइन । सत्रबाट कतिवटा विवादको मेलमिलाप भयो । त्यो नतिजा महत्वपूर्ण हुने जनाउ सहित स्थानीय सरकारमा न्यायिक निरुपणको गहन जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा न्यायिक समितिका सदस्य एवं वडा नं.२९ का अध्यक्ष कुश ढकालले, विवाद अदालतमा पुग्दा विषय विमुख भइसकेको हुनाले पीडितले न्याय पाउन कठिन हुने बताउनुभयो । ‘समस्या, अवस्था, मनोवृत्ति स्थानीयलाई जत्तिको अरु कसैलाई जानकारी हुँदैन । यसकारण स्थानीय न्यायिक निरुपणको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले महानगरपालिकाले कानुन तर्जुमा गरेर न्यायिक विबेन्द्रीकरण गरेर विवाद सम्बन्धी निवेदन वडा कार्यालयमा दर्ता गराउन सकिने व्यवस्था मिलाएको जानकारी दिँनुभयो ।

कार्यक्रममा मेलमिलापकर्ता समाजका अध्यक्ष रामकृष्ण काफ्ले लगायतले सानातिना विवाद लिएर अदालतमा जाँदा समय धेरै लाग्ने, खर्च धेरै लाग्ने, प्रक्रिया झन्झट हुने भएकोले मानिसहरु न्यायका लागि अदालत जान चाहँदैनन् । त्यसैले, समस्या भएका तर समाधानका लागि अदालत जान नचाहनेहरुका लागि मेलमिलाप केन्द्र उपयुक्त विकल्प बन्न सक्ने बताउनुभयो ।