बुधबार, जेष्ठ २, २०८१

मन्त्रिपरिषद् बैठक: राष्ट्रिय बालबालिका र अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति स्वीकृत

  • सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत
  •  अल्पसङ्ख्यक जातिको पहिचान मापदण्ड ०.५ [शून्य दशमलव पाँच] प्रतिशतभन्दा कम जनसङ्ख्या

काठमाडौँ पुस ५,
आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।

त्यस्तै मन्त्री शर्माले बैठकपछि दिनुभएको जानकारी अनुसार आजको बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० र अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

साथै बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड [ख] को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसङ्ख्याको ०.५ [शून्य दशमलव पाँच] प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति [दलितबाहेक] लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने लगायतका निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले बताउनुभयो ।