सोमवार, बैशाख १७, २०८१

शम्भुजितको नाच्देउ मैच्याङ रिमेक भर्सनमा

 काठमाडौंअसार १८,
गायक तथा संगीतकार शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन गुरु पूर्णिमाको अवसरमा सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन् । यो गीत शम्भुजितले ४६ वर्ष अघि रेडियो नेपालमा गाएका थिए । गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

 राजधानीमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा शम्भुजितले मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ । अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित रहेको बताए ।

त्यस्तै गायिका पाल्मुले बाल्यकालदेखि नै शम्भुजितको गीत र संगीत सुनेर हुर्किएको स्मरण गर्दै अहिले यो गीतमा शम्भुजितसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताइन् ।

भिडियोका मोडल पल शाहले म्यूजिक भिडियोको कल्पना गरेका शम्भुजित बास्कोटासँग यो भिडियोमा सहकार्य गर्न पाउँदा आफू हर्षविभोर भएको बताए ।

मोडल छिरिङ शेर्पाले आफू शेर्पा समुदायको फिल्ममा र केही गीतमा सीमित भइरहँदा अहिले यो टिमसँग सहकार्य गर्न पाउँदा आफ्नो दायरा फराकिलो बनेको अनुभव सुनाइन् ।

हरि हुमागाईंको डीओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटीको मेकअप, प्रविण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकनरहेको छ ।