सोमवार, बैशाख १७, २०८१

बागमतीमा प्रदेशको मन्त्रिपरिषद् विस्तार, एक विना विभागीयसहित ६मन्त्री नियुक्त

 काठमाडौं जेठ ७,
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफु नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले एक विनाविभागीयसहित ६ जना मन्त्री नियुक्त गर्दै आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रदेश सरकारको विस्तारित मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसैवीच नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज दिउँसो वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले १ विनाविभागीय मन्त्रीसहित ६ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ लिएका छन ।

यसअघि माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकासमा युवराज दुलाल, सामाजिक विकासमा कुमारी मोक्तान, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री र नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुरसिंह लामा, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा तीर्थबहादुर लामालाइ जिम्मेवारी दिइएको थियो ।