सोमवार, बैशाख २४, २०८१

विज्ञापन कटौती गर्ने निर्णय तत्काल फिर्ता नलिए देशव्यापी आन्दोलन : प्रेस युनियन

 काठमाडौं जेठ ७,
नेपाल प्रेस युनियनले सञ्चार माध्यमहरुलाई नेपाल सरकारबाट उपलव्ध गराईने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा समानुपातिक रुपमा वितरण गर्न स्थापना भएको विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम नपुग भएको कारण देखाउँदै कटौती गर्ने विषयमा गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञापन बोर्डले जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी सूचना प्रकाशित गर्नु आफैमा खेदजन्य रहेको जिकिर सहित युनियनका महासचिव दिलीप पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली सञ्चार माध्यमले मुलुकको राजनीति परिवर्तन गर्न , सुशासन कायम गर्न, विचार निर्माण गर्न, चेतना अभिवृद्धि गर्न गरेको योगदानको अवमूल्यन भएको ठहर सहित लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको निर्णय तत्काल सच्चाएर निरन्तर रुपमा विज्ञापन वितरणको व्यवस्था मिलाउन विज्ञापन बोर्ड र नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा विज्ञापन बोर्ड गठन भए पछि सञ्चार माध्यमलाई थप सहयोग र सहजीकरण हुने अपेक्षा गरिएको थियो । तर बोर्डबाट सञ्चार क्षेत्रलाई नै प्रतिकुल हुने निर्णय गरिनुले बोर्डको औचित्वमाथि प्रश्न उठेको भन्दै साना लगानी तथा स्वरोजगारमूलक सञ्चार माध्यमको हित विपरित विज्ञापन कटौती गर्ने निर्णय तत्काल फिर्ता नलिएमा देशव्यापी आन्दोलन गर्न बाध्य हुने नेपाल प्रेस युनियनले चेतावनी समेत दिएको छ।